५७ सय मिटरमा भेटियो निर्मल पुर्जाको शव

५७ सय मिटरमा भेटियो निर्मल पुर्जाको शव


काठमाडौं । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव ब्रड पिक हिमालको करिब ५ हजार ७ सय मिटर उचाइमा फेला परेको छ ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार हिमपहिरोमा परेर तीन दिनअघि बेपत्ता भएका निम्सदाइको शव आइतबार स्थलमार्गबाट पुगेको उद्धार टोलीले फेला पारेको हो ।

एसीपीले जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोली निम्सदाइको शवसम्म पुगिसकेको छ । सोही स्थानमा थप तीन शव पनि देखिएको जनाइएको छ । ती शवहरूको पहिचान भने अझै खुलेको छैन । उद्धार टोलीले सबै शवलाई जापानी शिविर (जापान क्याम्प)सम्म ल्याउने तयारी गरिरहेको एसीपीले जनाएको छ ।

निम्सदाइ बिहीबार बिहान ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परेपछि उनी र टोलीका अन्य सदस्य सम्पर्कविहीन भएका थिए ।

यसअघि अभियान आयोजक कम्पनी एलिट एक्सपेडले शनिबार निम्सदाइसहित पाकिस्तानी पर्वतारोही सोहेल साखी र अभियानमा संलग्न अन्य सदस्यको मृत्यु भएको जनाएको थियो ।

यसैबीच, एसीपीकी नायला कियानीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले आइतबारसम्म तीन पर्वतारोहीको शव उद्धार भइसकेको तथा घटनास्थलमा एक अमेरिकी पर्वतारोहीको हुन सक्ने शवका अवशेष पनि फेला परेको उल्लेख गरेका छन् ।