काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले इरानमाथि थप सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न सहमत भएको बताएका छन् । तर, उनले यसका लागि एउटा सर्त पनि राखेका छन्— महिनौँदेखि जारी युद्ध अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्छ ।
अमेरिका र इरानबीच पुनः ठूलो सैन्य भिडन्त हुन सक्ने आशंकाले मध्यपूर्व तनावग्रस्त बनेको छ । दुवै पक्षले ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण हुन सक्ने चेतावनी दिँदै आएका थिए ।
ट्रम्पले शनिबार (अमेरिकी समयअनुसार) आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरान तथा मध्यपूर्वका अन्य मुलुकहरूले नयाँ आक्रमण नगर्न आफूलाई अनुरोध गरेको र “सम्झौताका आधारभूत रूपरेखा (Perimeters of a Deal) मा सहमति भइसकेको” दाबी गरेका छन् ।
तर, इरानले ट्रम्पको उक्त दाबीलाई तत्काल अस्वीकार गरेको छ ।
इरानी सरकारी समाचार एजेन्सीले सैन्य अधिकारीलाई उद्धृत गर्दै ट्रम्पको भनाइलाई “अर्को झुट” भनेको छ । इरानले आफ्ना सशस्त्र बल उच्च सतर्क अवस्थामा रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको जनाएको छ ।
यसबीच विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य अझै बन्द छ भने यमनका इरान समर्थित हुथी विद्रोहीका कारण लाल सागर (रेड सी) मा पनि जल यातायात प्रभावित बनेको छ ।
ट्रम्पले किन रोके आक्रमण ?
ट्रम्पले आफ्नो पोस्टमा अमेरिका “इरानविरुद्ध पूर्ण तयारीका साथ आक्रमण गर्न तयार” रहेको बताएका थिए ।
तर इरान तथा मध्यपूर्वका केही देशले नयाँ आक्रमण नगर्न आग्रह गरेपछि आफूले आक्रमण स्थगित गरेको उनको दाबी छ ।
उनले लेखेका छन्, “विश्वको हित र समृद्ध इरानको भविष्यलाई ध्यानमा राख्दै, छिट्टै सम्झौता हुने सर्तमा मैले आक्रमण रद्द गर्ने निर्णय गरेको छु ।”
ट्रम्पका अनुसार सम्भावित सम्झौतामा दुई मुख्य विषय समेटिनेछन् – होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खोल्ने, इरानको आणविक खतरा अन्त्य गर्ने ।
उनले इजरायल पनि यस प्रतिबद्धतामा सहभागी भएको उल्लेख गर्दै “अब सबैले काम गरेर यो सम्झौता टुंग्याउनुपर्छ” भनेका छन् ।
तर ट्रम्प वा ह्वाइट हाउसले यो सम्झौता वास्तवमा के हो, कसले मध्यस्थता गरिरहेको छ वा कुन पक्षबीच छलफल भइरहेको छ भन्नेबारे थप जानकारी दिएका छैनन् ।
साउदी युवराजको भूमिका
अमेरिकी समाचार वेबसाइट एक्सियोस (Axios) का अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले शनिबार ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए ।
वार्ताका क्रममा उनले इरानमाथि ठूलो सैन्य आक्रमणको योजनाप्रति चिन्ता व्यक्त गर्दै तनाव घटाउन र नयाँ आक्रमण नगर्न आग्रह गरेका थिए ।
अमेरिकाले आक्रमण रोक्नुको अर्को सम्भावित कारण हतियारको घट्दो मौज्दात पनि मानिएको छ ।
विशेषगरी प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक (Interceptors) तीव्र रूपमा सकिँदै गएको अमेरिकी अधिकारीहरूको चिन्ता छ ।
सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (CSIS) का अनुसार इरानसँगको युद्धअघि अमेरिकासँग करिब २,३०० वटा प्याट्रियट अवरोधक थिए ।
अहिले त्यो संख्या ८२७ भन्दा कम मा झरेको अनुमान गरिएको छ ।
डेमोक्र्याट सिनेटर क्रिस भान होलेनले अमेरिकी टेलिभिजन एबीसीसँग भने, “हामी आफ्ना अवरोधक क्षेप्यास्त्र तीव्र गतिमा खर्च गरिरहेका छौँ । ती अमेरिकी सैनिकको सुरक्षाका लागि अत्यावश्यक छन् । विश्वका अन्य सम्भावित द्वन्द्वलाई पनि हामीले ध्यान दिनुपर्छ ।”
अमेरिकी सञ्चारमाध्यमका अनुसार संयुक्त सेनाका अध्यक्ष जनरल ड्यान केनले पनि हतियारको मौज्दात घट्दै गएकोबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि ट्रम्पले ती चिन्तालाई अस्वीकार गरेका छन् ।
इरानको धारणा के छ ?
इरानले ट्रम्पले आक्रमण स्थगित गरेको दाबी वा सम्भावित सम्झौताबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
तर कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले आइतबार इरानले शत्रुपक्षबाट आउने हरेक धम्कीलाई “वास्तविक र विश्वसनीय” रूपमा लिने बताएका छन् ।
उनले भने, “हामी न त असावधान हुनेछौँ, न त निष्क्रिय बस्नेछौँ ।”
उनका अनुसार इरानले हरेक धम्कीलाई आफ्नो सैन्य तयारी, प्रतिरोध क्षमता र रक्षा शक्ति थप मजबुत बनाउने अवसरका रूपमा लिनेछ ।
पछिल्लो सातामात्रै इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर, टर्कीका विदेशमन्त्री हाकान फिदान तथा साउदी विदेशमन्त्री फैसल बिन फरहानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए ।
अराघचीले अमेरिका वा उसका सहयोगीबाट कुनै पनि आक्रमण भए त्यसको “निर्णायक जवाफ” दिइने चेतावनी दिएका छन् ।
साउदी विदेशमन्त्रीसँगको वार्तामा उनले अमेरिका, इजरायल वा कुनै क्षेत्रीय मुलुक त्यस्तो आक्रमणमा सहभागी भए त्यसको “उचित प्रतिकार” गरिने बताएका थिए ।
इरानको सर्वोच्च सुरक्षा निकायसँग सम्बन्धित नूरन्युज ले अमेरिकी आक्रमण भए साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारका ग्यास क्षेत्र तथा इजरायलका ऊर्जा पूर्वाधारमाथि पनि आक्रमण गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया