एजेन्सी । अमेरिकी समाचार माध्यम CBS News का अनुसार, इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्नो विश्वव्यापी गाइडेड मिसाइल भण्डारको लगभग सम्पूर्ण हिस्सा प्रयोग गरिसकेको छ।
बीबीसीको फारसी सेवाका अनुसार, यस विषयमा जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै CBS News ले उक्त जानकारी सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार, अमेरिकाले ‘अपरेसन एपिक फ्युरी’ का क्रममा विशेषगरी आफ्नो आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (ATACMS) र प्रिसिजन स्ट्राइक मिसाइल को झण्डै सम्पूर्ण भण्डार प्रयोग गरेको थियो।
यसअघि समाचार संस्था Reuters ले पनि उक्त अभियानमा अमेरिकाले आफ्ना “लगभग सबै” लामो दूरीका मिसाइल प्रयोग गरिसकेको जनाएको थियो।
CBS News ले यसअघि प्रकाशित अर्को रिपोर्टमा अमेरिकासँग रहेका इन्टरसेप्टर मिसाइल तथा लामो दूरीका मिसाइल को मौज्दात उल्लेखनीय रूपमा घटेको र यो अमेरिकी प्रशासनका लागि आन्तरिक चुनौती बनेको जनाएको थियो।
रिपोर्टका अनुसार, यही गतिमा सैन्य अभियान सञ्चालन गर्न अमेरिकालाई कठिन हुने देखिएको छ, किनभने इरानविरुद्धको युद्धको सुरुवातमै उसले उच्च सटीकतासहित प्रहार गर्न सक्ने हतियारको ठूलो हिस्सा प्रयोग गरिसकेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार यी मिसाइलहरूको मौज्दात सीमित छ। विशेषगरी प्याट्रियट र THAAD (टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स) इन्टरसेप्टर मिसाइलको संख्या घट्दै जानु थप चिन्ताको विषय बनेको छ। ती मिसाइलहरू अत्यधिक तीव्र गतिमा प्रयोग भइरहेका कारण अमेरिकी रक्षा उद्योगले त्यही अनुपातमा उत्पादन गर्न सकिरहेको छैन।
अमेरिकी रक्षा विभागका वरिष्ठ प्रवक्ता शोन पार्नेल ले CBS News लाई दिएको प्रतिक्रियामा भने, “अमेरिकी सेना संसारकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो र आफ्नो कुनै पनि मिसन पूरा गर्न आवश्यक सबै साधन–स्रोत उसँग उपलब्ध छन्। हामीले विभिन्न क्षेत्रमा सफल सैन्य अभियान सञ्चालन गरेका छौं। साथै, अमेरिकी नागरिक र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक क्षमताको पर्याप्त भण्डार अमेरिकी सेनासँग रहेको सुनिश्चित गरेका छौं।”

प्रतिक्रिया