तातोपानी भन्सार क्षेत्रमा पहिरो : सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति

तातोपानी भन्सार क्षेत्रमा पहिरो : सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति


सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय क्षेत्रमा गएराति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति पुगेको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति भएको छैन।प्रहरीका अनुसार बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट पहिरोसँगै खसेका ठूला ढुङ्गा उछिट्टिएर बीओपीका भवन तथा अन्य संरचनामा ठोक्किँदा क्षति पुगेको हो।
घटनामा पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानोमा ६ वटा प्वाल बनेका छन्। त्यसैगरी सुरक्षाका लागि राखिएका दुई ड्यूटी पोष्टमध्ये एउटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ।
यस्तै, वरिष्ठ अधिकृतको बाथरुमको भित्तामा प्वाल परेको, जिन्सी स्टोर भवनको छत र भित्तामा तीन स्थानमा क्षति पुगेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा भाँचिएको तथा कार्यालयको मुख्य प्रवेशद्वार अगाडिको सिँढीमा समेत क्षति पुगेको जनाइएको छ।
घटनापछि पनि उक्त क्षेत्रमा निरन्तर ढुङ्गा खसिरहेकाले थप सतर्कता अपनाइएको सुरक्षा स्रोतले जनाएको छ।