काठमाडौं । पाकिस्तानको बोर्ड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्त’को आज काठमाडौंको स्वयम्भूस्थित सोह्रममा अन्तिम संस्कार भएको छ।
युक्तको अन्तिम संस्कारमा गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेल, पूर्वसभामुख, सांसदहरू, नेपाली कांग्रेसका सभापति गगन थापा तथा कार्यकर्ता, उनका आफन्त, पर्वतारोहण व्यवसायी तथा आरोहीहरूको उपस्थिति रहेको छ।
युक्तको पार्थिव शरीरमा गृहमन्त्री र पर्यटनमन्त्रीले नेपाली राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका युक्तको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
पर्वतारोहण क्षेत्रमा लामो समयदेखि सक्रिय युक्तले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमा २८ पटक सफल आरोहण गरेका थिए। बोर्ड पिकमा गएको हिमपहिरोमा परी उनको निधन भएपछि नेपाली पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

प्रतिक्रिया