कपिलवस्तु ।कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह सम्पर्कविहीन भएपछि उनको खोजी कार्य शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ। राति २ बजेसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता नलागेपछि रोकिएको खोजी कार्य बिहानैदेखि गोरुसिङ्गे जङ्गल क्षेत्रमा पुनः सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले गोरुसिङ्गे जङ्गल क्षेत्रमा खोजी गरिरहेको छ। यसअघि शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दासहितको ठूलो टोलीले ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो। राति अबेरसम्म खोजी गरिए पनि सिंहको अवस्था पत्ता लाग्न सकेको थिएन।
पूर्वमेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ। सोही कारण प्रहरीले ढेकहरी र गोरुसिङ्गे आसपासका क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको छ। सिंह कसरी सम्पर्कविहीन भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले सम्भावित स्थानहरूमा खोजीलाई तीव्र बनाउँदै घटनाबारे थप जानकारी संकलन गरिरहेको छ।

प्रतिक्रिया