अमेरिकी रिपोर्ट – रूसले केही वर्षभित्र नाटो राष्ट्रमाथि आक्रमण गर्न सक्छ

अमेरिकी रिपोर्ट – रूसले केही वर्षभित्र नाटो राष्ट्रमाथि आक्रमण गर्न सक्छ


काठमाडौं । अमेरिकी गुप्तचर निकायले तयार पारेका पछिल्ला रिपोर्टले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही वर्षभित्र नाटो (NATO) को एकता र सामूहिक सुरक्षा प्रतिबद्धताको परीक्षण गर्न कुनै सदस्य राष्ट्रमाथि सीमित प्रकृतिको आक्रमण गर्नसक्ने आकलन गरेका छन् ।

रिपोर्टबारे जानकारी भएका तीन स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएअनुसार रूसले नाटोविरुद्ध साइबर आक्रमणदेखि सानो स्तरको सीमावर्ती सैन्य हस्तक्षेपसम्मका विभिन्न विकल्प अपनाउन सक्ने सम्भावना औँल्याइएको छ । यस्तो कदमको उद्देश्य नाटोको एकता र सन्धिको धारा–५ (एक सदस्यमाथिको आक्रमण सबै सदस्यहरूमाथिको आक्रमण मानिने व्यवस्था) कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने परीक्षण गर्नु हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

यद्यपि पुटिनले कहिले र कुन तरिकाले यस्तो कदम चाल्न सक्छन् भन्ने स्पष्ट नभए पनि एक स्रोतका अनुसार बाल्टिक राष्ट्रहरू वा पोल्यान्ड सम्भावित लक्ष्य बन्न सक्ने आकलन गरिएको छ ।

अमेरिकी तथा नाटो अधिकारीहरूका अनुसार यदि युक्रेन युद्धबाट पुटिनले आफ्नो राजनीतिक प्रतिष्ठा जोगाउने कुनै सम्मानजनक निकास फेला पार्न सकेनन् भने उनले नाटोसँगको तनाव बढाउने विकल्प रोज्न सक्छन् । उनीहरूले यस्तो निर्णय अहिलेबाट आगामी केही वर्षभित्र कुनै पनि समयमा हुन सक्ने बताएका छन् ।

नाटोका वरिष्ठ सैन्य प्रवक्ता मार्टिन ओ’डोनेलले गोप्य गुप्तचर रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गर्दै नाटो कुनै पनि सम्भावित अवस्थाका लागि सधैँ तयारी अवस्थामा रहेको बताए ।

उनले भने, “नाटोले सबै सम्भावित परिदृश्यलाई ध्यानपूर्वक निगरानी गरिरहेको छ । आवश्यक परे प्रतिरोध र प्रतिरक्षाका लागि हामी पूर्ण रूपमा तयार छौँ ।”

पछिल्ला केही वर्षयता रूससँग सम्बन्धित गतिविधिले नाटो सदस्य राष्ट्रहरूको सुरक्षा चिन्ता बढाएको छ ।

गत मे महिनामा युक्रेनको बन्दरगाहमाथि रूसले गरेको आक्रमणका क्रममा विस्फोटक बोकेको एउटा ड्रोन रोमानियाको एक आवासीय भवनमा खस्दा दुई जना घाइते भएका थिए ।

त्यस्तै, गत सेप्टेम्बरमा युक्रेनमाथिको रुसी आक्रमणका क्रममा पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेका रुसी ड्रोनहरूलाई नाटोका लडाकु विमानले खसालेका थिए ।

यसै साता जर्मनीको एउटा विमानस्थलमा सैन्यस्तरको विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेको थियो । युरोपस्थित अमेरिकी रक्षा अधिकारीका अनुसार उक्त ड्रोन रुसी गुप्तचर सेवासँग सम्बन्धित हुन सक्ने प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।

जर्मनीका गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्टले विस्फोटकयुक्त ड्रोन विमानस्थलमा भेटिनु नयाँ सुरक्षा चुनौती भएको बताएका छन् । उनले यस घटनामा विदेशी शक्तिको संलग्नता हुन सक्ने संकेत गरे पनि कुनै देशको नाम भने उल्लेख गरेका छैनन् ।

घटनापछि जर्मन चान्सलर फ्रिडरिक मर्जको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो ।

अमेरिकी हतियार भण्डारमा दबाब

रूससम्बन्धी यी नयाँ गुप्तचर मूल्याङ्कनहरू अमेरिका आफ्नै हतियार भण्डार घट्दै गएको चिन्ताबीच सार्वजनिक भएका हुन् ।

सीएनएनका अनुसार इरानसँगको युद्धपछि अमेरिकी THAAD मिसाइल प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत अवरोधक मिसाइल र प्याट्रियट प्रणालीका करिब ५० प्रतिशत अवरोधक मिसाइल प्रयोग भइसकेका छन् ।

यता संयुक्त राष्ट्रसंघले पनि सन् २०२६ को जनवरीदेखि जुनसम्म रूसका लामो दूरीका मिसाइल तथा ड्रोन आक्रमणबाट युक्रेनमा हुने नागरिक हताहती अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढेको जनाएको छ ।

यसै साता भएको एक रातको रुसी आक्रमणमा ब्यालिस्टिक र जहाजविरोधी मिसाइल प्रहारबाट कम्तीमा १७ जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएका थिए । सीएनएनका अनुसार युक्रेनी प्रतिरक्षा प्रणालीले ती मिसाइलहरू रोक्न सकेको थिएन ।

हतियार भण्डार घट्दै जाँदा अमेरिकी सैन्य नेतृत्वले भविष्यमा रूससँग नाटो क्षेत्रमा हुन सक्ने सम्भावित द्वन्द्व तथा प्रशान्त क्षेत्रमा चीनसँग उत्पन्न हुन सक्ने संकटलाई समेत ध्यानमा राखेर रणनीति पुनरावलोकन गरिरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डार घटेको भन्ने समाचारप्रति निजी रूपमा असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “अमेरिकासँग अझै पनि पर्याप्त मात्रामा हतियार छन् । आवश्यकताअनुसार नयाँ उत्पादन भइरहेको छ र रक्षा उद्योगले इतिहासकै सबैभन्दा धेरै कारखाना निर्माण गरिरहेको छ ।”

यसबीच अमेरिका र युरोपको पहलमा रूस–युक्रेन युद्ध अन्त्य गराउने कूटनीतिक प्रयासहरू अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । मस्कोमाथि लगाइएका अमेरिकी तथा युरोपेली प्रतिबन्धले रुसी अर्थतन्त्रमा असर पारे पनि युक्रेनमाथिको रुसी सैन्य आक्रमण भने रोकिएको छैन ।