सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चार जना शहीद घोषणा

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चार जना शहीद घोषणा


काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउन राति दुई समुदायबीच झडप भएको थियो । उक्त झपडको बाछिटा अन्य जिल्लामा समेत फैलिएको थियो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू –

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।
२. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने।
३.पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।
४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।
५. पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।