सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय तथा सर्वस्वीकार्य आयोग गठन गर्नुपर्ने निर्णय गरेको हो।

घटनाको छानबिनका लागि सरकारी संयन्त्र मात्र सहभागी हुने आयोगले सरकारका कमजोरी लुकाउने आशंका यसअघि नै व्यक्त गरेको स्मरण गर्दै कांग्रेसले पछिल्ला घटनाक्रमले आफ्नो आशंकालाई पुष्टि गरेको दाबी गरेको छ।

कांग्रेसले घटनाको निष्पक्ष छानबिनको मागसहित सम्झौता कार्यान्वयनका लागि विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भिर बन्दै जाँदासमेत सरकारले चासो नदेखाएको आरोप लगाएको छ। यादवको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले तत्काल न्यायिक आयोग गठन गर्न माग गरेको हो।

कांग्रेसले देवानगञ्ज–कप्तानगञ्जलगायतका स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको दाबीसमेत गरेको छ।

पीडितपक्षलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्ने बाहेक अन्य विषय कार्यान्वयन नभएको कांग्रेसको भनाइ छ।

‘सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश तीव्र रूपमा बढिरहेको र पुनः अर्को दुर्घटना निम्तिने खतरा बढेको’ भन्दै कांग्रेसले सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

त्यस्तै, कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न पेशा, व्यवसाय र संघसंस्थासँग सरकारले गरेका सहमति कार्यान्वयन नभएको आरोप लगाएको छ।

सरकारले नागरिक तथा पेशागत संघसंस्थासँग गरेका सहमति र समझदारीलाई तत्काल कार्यान्वयन गरी सम्बन्धित पक्षलाई राहत र न्याय दिनुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले हरेक घटनामा सहमति गर्न तयार हुनु मात्रै सरकारको उपलब्धि नभएको टिप्पणी गर्दै सहमति कार्यान्वयन नगर्ने प्रवृत्तिले सरकारप्रति नागरिकको अविश्वास बढाएको जनाएको छ।

‘सरकारले पटक–पटक सहमति खोज्ने तर त्यसको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्ति चिन्ताको विषय बनेको’ कांग्रेसको ठहर छ।

यस्तो अवस्थाले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वाससमेत कमजोर हुँदै गएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टी प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।