काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टर्कीबाट निमन्त्रणा प्राप्त भएको छ ।
निमन्त्रणा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको तर्फबाट आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्रीका नाममा निमन्त्रणा आएको जानकारी दिएका हुन् ।
उनका अनुसार निमन्त्रणा परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ । अब सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए ।
ढकालले सरकारले उपयुक्त समयमा सहभागिताको स्वरूप तय गर्ने उल्लेख गर्दै त्यससम्बन्धी निर्णयको प्रतीक्षा भइरहेको जानकारी दिए ।
यस वर्षको कोप–३१ सम्मेलन आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदै छ ।
सम्मेलनमा नेपालले जलवायु परिवर्तनबाट हिमाली मुलुकहरूले भोगिरहेका चुनौती, जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति (Loss and Damage) तथा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी छ ।

प्रतिक्रिया