काठमाडौं । नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले सञ्चालन गरेको आठ साताको कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका युवा नेपाली पेसाकर्मी, अनुसन्धानकर्ता र विद्यार्थीलाई नेपालको परराष्ट्र नीतिका प्राथमिकतासँग सम्बन्धित विषयमा प्रत्यक्ष अनुसन्धान गर्ने अवसर प्रदान गरिएको थियो । कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए भने यो पूर्ण रूपमा स्वेच्छिक आधारमा सञ्चालन गरिएको थियो ।
समर फेलोसिपमा नेपालको रक्षा कूटनीतिमाथि अध्ययन गरेकी डा. हिन्दू संस्कृतिका कार्कीले कार्यक्रम आफ्नो व्यावसायिक यात्राका लागि महत्त्वपूर्ण अवसर बनेको बताइन् । उनले फेलोसिप अवधिमा सरकारसँग नजिक रहेर काम गर्ने, विभिन्न निकायसँग सहकार्य गर्ने तथा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएको उल्लेख गरिन् । चीनको फुदान विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिमा विद्यावारिधि गरेकी कार्कीले यस कार्यक्रमबाट विदेश मामिलामा देशलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
परराष्ट्र नीतिमा युवाको ज्ञान र विशेषज्ञता
नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको मन्त्रालयको भनाइ छ । बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा आर्थिक कूटनीति, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र नयाँ ज्ञानको भूमिका महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले अन्तरराष्ट्रिय व्यापार, सहुलियतपूर्ण वित्तीय पहुँच तथा विकास साझेदारीमा परिवर्तन आउने अपेक्षा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै युवा अनुसन्धानकर्ता र पेसाकर्मीको ज्ञानलाई नीतिगत तहसँग जोड्ने उद्देश्यले समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अध्ययन तथा पेसागत क्षेत्रमा सक्रिय नेपाली युवासँग रहेको ज्ञान, सीप, अनुभव र अन्तरराष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय हितमा उपयोग गर्न सकिने सम्भावनालाई आधार बनाएर कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार मन्त्रालयले युवा अनुसन्धानकर्ता तथा पेसाकर्मीहरूसँग संरचित साझेदारी निर्माण गर्ने नीति लिएको छ । कार्यक्रममा सहभागीले मन्त्रालयका प्राथमिकताका क्षेत्रमा भइरहेको नीतिगत कामलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए ।
ज्ञान, साझेदारी र सञ्जाल
कार्यक्रमलाई ज्ञान, साझेदारी र सञ्जाल गरी तीन आधारमा विकास गरिएको थियो । ज्ञानतर्फ नेपालको आगामी परराष्ट्र नीतिलाई प्रभावित गर्ने विषयमा विश्लेषणमा आधारित अनुसन्धान उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सहभागीले आफ्नो शैक्षिक प्रशिक्षण, अनुसन्धान सीप तथा क्षेत्रगत विशेषज्ञताको प्रयोग गरेका थिए ।
साझेदारीतर्फ सरकार र अनुसन्धान तथा पेसागत समुदायबीच कार्यगत सम्बन्ध विकास गर्ने उद्देश्य राखिएको थियो । सहभागीले मन्त्रीस्तरीय तहमा परराष्ट्र नीति कसरी निर्माण र कार्यान्वयन हुन्छ भन्ने बुझ्ने अवसर पाए भने मन्त्रालयले उनीहरूबाट नयाँ दृष्टिकोण र अन्तरराष्ट्रिय अनुभव प्राप्त गर्ने अपेक्षा गरेको थियो । सञ्जाल निर्माणलाई कार्यक्रमको दीर्घकालीन पक्षका रूपमा अघि बढाइएको थियो ।
दश विषयमा अनुसन्धान
कार्यक्रमअन्तर्गत सहभागीले १० वटा अनुसन्धान विषयमध्ये एउटा छनोट गरी आफ्नै मौलिक अनुसन्धान प्रश्न तयार गरेका थिए । रणनीतिक मामिला, अन्तरराष्ट्रिय कानुन, डिजिटल सुशासन, उदीयमान प्रविधि, राष्ट्रिय सुरक्षा, द्वन्द्व, आर्थिक जोखिम, जलवायु कूटनीति, ऊर्जा, श्रम कूटनीति, डायस्पोरा, पर्यटन, सार्वजनिक कूटनीति तथा विकास वित्तलगायतका विषयलाई अनुसन्धानको प्राथमिकतामा राखिएको थियो ।
मन्त्रालयको प्रत्यक्ष अनुभव
कार्यक्रमले अनुसन्धानलाई मात्र प्राथमिकता नदिई सहभागीलाई मन्त्रालयको कार्यप्रणाली र नीतिगत प्रक्रियासँग प्रत्यक्ष जोड्ने व्यवस्था पनि गरेको थियो । सहभागीले सम्पर्क अधिकारीसँग नियमित बैठक गर्दै आफ्नो अनुसन्धानको प्रगति प्रस्तुत गरेका थिए । विभिन्न विज्ञ, पूर्वकूटनीतिज्ञ तथा क्षेत्रगत विशेषज्ञबाट प्रस्तुतिहरू पनि सञ्चालन गरिएका थिए, जसले सहभागीलाई नेपालको कूटनीतिक अभ्यासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो ।
नीतिगत अनुसन्धानमा जोड
कार्यक्रमको मुख्य उपलब्धिका रूपमा प्रत्येक सहभागीले नीतिगत अनुसन्धान दस्तावेज तयार गरेका थिए । ती दस्तावेज नीतिनिर्मातालाई लक्षित गरी तयार गरिएका थिए, जसलाई मन्त्रालयले भविष्यमा नीति निर्माण तथा कार्यान्वयनमा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । अनुसन्धान सामग्री प्रकाशन गर्न चाहने सहभागीले मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको थियो ।
जापानस्थित इन्स्टिच्युट अफ डेभलपिङ इकोनोमिजमा अनुसन्धान फेलोका रूपमा कार्यरत राशेष श्रेष्ठले कार्यक्रमले नेपाली परराष्ट्र नीति र विदेशमा रहेका नेपालीबीच सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई धेरै नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको छ ।
संस्थागत ज्ञान र नयाँ पुस्ताबीच पुल
परराष्ट्रमन्त्री खनालले समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले मन्त्रालयको संस्थागत ज्ञान र नयाँ पुस्ताको अनुसन्धान तथा अन्तरराष्ट्रिय अनुभवबीच पुल निर्माण गर्ने प्रयास गरेको बताए । बदलिँदो विश्वव्यवस्था, जलवायु परिवर्तन, प्रविधि, श्रम आप्रवासन, ऊर्जा, लगानी तथा विकास वित्तजस्ता विषयमा नेपालको कूटनीतिक क्षमता विस्तार गर्न युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन योगदान पुग्ने बताए ।
कार्यक्रम सम्पन्न भएसँगै आठ साताको अनुसन्धान अभ्यास औपचारिक रूपमा सकिए पनि मन्त्रालय र युवा पुस्ताबीच ज्ञान आदानप्रदान, अनुसन्धानमा आधारित नीति निर्माण तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने दीर्घकालीन उद्देश्यलाई यसले संस्थागत आधार दिएको मन्त्रालयको निष्कर्ष छ ।

प्रतिक्रिया