किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति

किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि तीन दिन म्याद थप गर्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो ।

बिहीबार प्रहरीले म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।