काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन सत्रमा प्रस्ताव पारित गर्ने क्रममा नेताहरूबीच मञ्चमै विवाद भएको छ। सम्मेलनमा सहभागीहरूबाट प्राप्त सुझाव समेटेर तयार पारिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच विवाद देखिएको हो।
प्रस्तावमा ‘१४औँ महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने वाक्य पढेर सुनाइएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो। त्यसपछि निर्णयलाई थप स्पष्ट पार्दै ‘उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ’ भन्ने वाक्य पनि पढेर सुनाइएको थियो। तर, प्रस्तावका विषयमा नेताहरूबीच अलमल देखिएपछि डा. प्रकाशशरण महत आफैं प्रस्ताव वाचन भइरहेको पोडियममा पुगे। उनले निर्णयमा ‘कार्यसमिति’ शब्दसमेत समावेश गर्न आग्रह गरेका थिए।
त्यसपछि नेता विमलेन्द्र निधि पनि पोडियममा पुगेर महतलाई हट्न आग्रह गरे। ‘तपाईंहरू हट्नुस्, म बुझ्छु’ भन्दै निधिले महतलाई पोडियमबाट हट्न आग्रह गरेका थिए।धर्मसम्बन्धी विषयमा समेत दुई नेताबीच मतभेद देखिएको थियो। महतले प्रस्तावमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने व्यवस्था राखेका थिए भने निधिले त्यसमा असहमति जनाउँदै ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने तर्क गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा निधि र महतबीच मञ्चमै भनाभन हुनुका साथै प्रस्तावसम्बन्धी कागज तानातान भएको देखिन्छ। विवाद बढेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए।
देउवाको निर्देशनपछि महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो। यद्यपि, विवादबारे प्रतिक्रिया दिँदै महतले प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको दाबी गरे। उनले धर्मसम्बन्धी विषयमा केही मतभेद देखिए पनि पछि सहमति भएको बताए। ‘धर्मको बारेमा चाहिँ अलिकति अहिले यो हामीले त अब सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा लाने भन्ने भयो नि त! उहाँको केही कुरा थियो तर मिलिहाल्यो पछि। त्यस्तो केही पनि भएको छैन। प्रस्तावहरू सर्वसम्मतरुपमा पारित गरिएको छ,’ महतले भने।

प्रतिक्रिया