काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको नेतृत्वका विषयमा सभापति गगन थापासँग सहमति गर्न आफूहरू तयार रहेको बताएका छन् । तर, नेतृत्व चयनसँगै पार्टीका वरिष्ठ नेताहरूलाई समेत उचित स्थान दिएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
राष्ट्रिय भेला/सम्मेलनका संयोजकसमेत रहेका कोइरालाले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसभित्र देखिएको विवादको मूल कारण पद र नेतृत्वको विषय भएको संकेत गरे ।
सभापतिमा गगन थापालाई स्वीकार गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा उनले आफूहरू तयार रहेको स्पष्ट पारे । उनका अनुसार थापाले नेतृत्व सम्हाल्ने र अन्य नेताहरूलाई पनि समेटेर अघि बढ्ने वातावरण बनाउन सके पार्टीभित्रको विवाद समाधान हुन सक्छ ।
कोइरालाले भने, “गगन थापा सभापति भएर बस्नुस्, अरू साथीहरूलाई पनि समेट्नुस् भन्ने मेरो कुरा हो । उहाँले त्यो पनि स्वीकार नगर्ने हो भने हामीले के गर्न सक्छौँ?”
उनले पार्टीका विभिन्न पक्षबीच संवादको वातावरण बनाउन आफू सक्रिय रहेको पनि बताए । विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवा र गगन थापाबीचको दूरी कम गराउन आफूले पहल गरिरहेको उनको भनाइ छ ।
आफूलाई थापाको पक्षमा ल्याउने प्रयास भए पनि व्यक्तिगत रूपमा कुनै एक पक्षमा उभिन आफू तयार नभएको कोइरालाले बताए । सबै पक्षलाई समेटेर मात्रै अघि बढ्नुपर्ने उनको अडान छ ।
“मलाई तान्नु छ भने सबैलाई तान्नुपर्छ भनेको छु । कुरा मिलेन,” उनले भने ।
कांग्रेस विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै कोइरालाले अहिले पनि आफूहरूबीचको मध्यवर्ती भूमिकामा रहेर सहमतिको प्रयास गरिरहेको बताए । उनका अनुसार दुवै पक्षले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई के आवश्यक छ भन्ने विषयमा स्पष्ट हुन जरुरी छ ।
पार्टीभित्रको एकता कायम हुन नसक्नुमा पदको चाहना प्रमुख कारण रहेको उनको बुझाइ छ । नेतृत्वको पदप्रतिको आकांक्षाले नै लामो समयदेखि कांग्रेसभित्र विवाद र ध्रुवीकरण बढाउँदै आएको उनको संकेत थियो ।
“पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो?” कोइरालाले प्रश्न गरे ।

प्रतिक्रिया