हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो – गगन थापा

हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो ।’

उनले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन महाधिवेशनसँग सम्बन्धित समितिहरूबारे खुला छलफल गर्न आफू तयार रहेको बताए ।

थापाले महाधिवेशनका विषयमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग पनि आफू निरन्तर संवादमा रहेको बताए । ‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन, म उहाँहरूसँग संवादमा छु,’ उनले भने ।

उनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताए ।

‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं,’ उनले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्नेछ ।’

महाधिवेशनमा प्रश्न उठ्न नदिने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचन समितिले बनाएको कार्यतालिकालाई सबैले पालना गर्नुपर्ने बताए ।

‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ, आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो,’ उनले भने ।