काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ नेतृत्वको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।
नेपाल भ्रमणका क्रममा सेठ सोमबार दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहे । उनले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरे । त्यसपछि जंगी अड्डामा आयोजित कार्यक्रममा उनलाई सम्मान तथा गारद प्रदान गरिएको थियो ।
त्यसपछि सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटपछि उनले जंगी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए ।
जंगी अड्डामै आयोजित अर्को कार्यक्रममा भारतीय सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार सेठ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

प्रतिक्रिया