काठमाडौं। चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, आवासीय तथा प्रशिक्षार्थी चिकित्सकको सेवा–सुविधा, काम गर्ने अवधि र व्यावसायिक दक्षता सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच छलफल भएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित बैठकमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा प्रा.डा. अग्रवालले आवासीय चिकित्सकहरूलाई मानसिक तथा शारीरिक दबाबबाट जोगाउँदै पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले चिकित्सा शिक्षा केवल सेवा नभई कठोर प्रशिक्षण प्रक्रिया भएकाले त्यसलाई सोही अनुरूप बुझ्न आवश्यक रहेको बताए। छलफलमा चिकित्सकहरूको दक्षता मूल्यांकन र नियमित अनुगमनलाई प्रभावकारी बनाउन सरकारले लागू गरेको डिजिटल लगबुक प्रणाली उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो।
यस प्रणालीमार्फत चिकित्सकको प्रशिक्षण र कार्यसम्पादनलाई व्यवस्थित रूपमा नियमन गर्न सकिने धारणा राखिएको थियो।प्रशिक्षार्थी तथा आवासीय चिकित्सकले पाउने तलब र निर्वाह भत्ताबारे पनि छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले पाठ्यक्रमको प्रकृतिका आधारमा सेवा–सुविधा निर्धारण गरिएको जानकारी दिए।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्र बहादुर खत्रीले चिकित्सकहरूको नियमितता, पर्याप्त विश्राम र कार्य–जीवन सन्तुलन सुनिश्चित गर्न नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले ९० प्रतिशत अनिवार्य उपस्थितिसँगै हप्तामा एक दिन बिदाको व्यवस्था गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्यसहित विभिन्न क्षेत्रका नीतिगत सुधारका लागि सरोकारवालासँग निरन्तर छलफललाई अघि बढाउँदै आएको जनाएको छ।

प्रतिक्रिया