कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् ।

अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका कार्यक्रम तथा कानुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अझै थप छलफल गर्नुपर्छ । सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित अनुमोदन गराए पनि हुन्छ । हामी अहिले बजेट कार्यान्वयनको चरणमा छौं । हिजोमात्रै प्रधानमन्त्रीसँग हाम्रो कार्यसम्पादन सम्झौता भएको छ । मूलतः बजेटमा गरिएका प्रतिबद्धताहरूलाई नै हामीले लिपिबद्ध गरेका छौं ।’

मन्त्री वाग्लेका अनुसार प्रधानमन्त्रीसँग सरकारका कार्यसम्पादन सम्झौता भइसकेको छ । चालु आर्थिक वर्षको बजेटमा करिब ८० वटा परिच्छेदअन्तर्गत ४३१ वटा कार्यान्वयनयोग्य बुँदा समेटिएको उनले बताए । तीमध्ये अधिकांश काम सम्बन्धित मन्त्रालयबाटै अघि बढ्ने र अर्थ मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उनको भनाइ थियो ।

उनले बजेटमा उल्लेख गरिएका करिब २७ वटा ऐन पारित गर्ने सरकारको प्रतिबद्धता रहेको बताए । लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रमैत्री वातावरण बनाउन केही ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले करिब १५ वटा ऐन खारेज गर्ने विधेयक समितिमा आउने बताए ।

उनले भने, ‘ करिब ८० वटा परिच्छेदमा ४३१ वटा कार्यान्वयनयोग्य बुँदा यसपटकको बजेटमा छन् । ती सबै काम अर्थमन्त्रीले मात्र गर्ने होइन । धेरैजसो काम सम्बन्धित मन्त्रालयहरूले नै गर्नेछन् । उद्योग, वाणिज्य, ऊर्जा, भौतिक पूर्वाधार तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा धेरै काम छन् । तर उहाँहरूलाई समन्वय र सहजीकरण गर्ने तथा अन्ततः स्रोतसाधनसँग जोडिएका विषयमा आवश्यक भूमिका निर्वाह गर्ने काम हाम्रो हो । त्यसैले अहिले हामी बजेट कार्यान्वयनको चरणमा छौं । बजेटमै उल्लेख गरिएका २७ वटा ऐन पारित गर्ने प्रतिबद्धता हामीले गरेका छौं । मुलुकमा लगानीको वातावरण बनाउन तथा व्यवसायीमैत्री र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न केही ऐन खारेजसमेत गर्दैछौं । १५ वटा ऐन खारेज गर्ने विधेयक समितिमै आउँदैछ ।’

मन्त्री वाग्लेका अनुसार नयाँ कानुन निर्माणतर्फ पनि सरकार अघि बढिरहेको छ । प्रस्तावित करिब २७ वटा ऐनमध्ये ८–९ वटा उद्योग मन्त्रालयसँग र ६–७ वटा अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको उनले बताए ।

उनले भने, ‘केही नयाँ कानुन पनि बनाउँदैछौं । करिब २७ वटा ऐनमध्ये ८–९ वटा उद्योग मन्त्रालयसँग सम्बन्धित छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित पनि ६–७ वटा छन्, जुन अब आउँदैछन् ।’

यसैगरी, सरकारले पियर–टु–पियर (पीटुपी) लेन्डिङको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको मन्त्री वाग्लेले जानकारी दिए । राष्ट्र बैंकमार्फत यस्तो व्यवस्था अघि बढाउन आवश्यक कानुनी आधार निर्माणका लागि छलफल भइरहेको उनले बताए ।