काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक विमति र विवादलाई सडक वा अदालतमा नलैजान आग्रह गर्दै सबै पक्षलाई संवादका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा आउन सार्वजनिक अपिल गरेका छन् ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटबन्दी, समानान्तर गतिविधि र न्यायालयसम्म पुगेका मुद्दामामिलाप्रति लक्षित गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाटै सम्भव हुने बताएका हुन् ।
पौडेलले भनेका छन्, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन ।’
उनले असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई आफ्ना फरक विचारसहित पार्टीको ‘साझा मन्दिर’ सानेपामा आएर खुल्ला संवाद गर्न आह्वान गरेका छन् । गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपश्चात् सिर्जना भएका परिस्थितिले देश कठिन मोडमा उभिएको उनको भनाइ छ ।
मुलुकमा प्रचण्ड बहुमतको सरकार रहे पनि त्यसका कतिपय गतिविधिले चिन्ता पैदा गरेको पौडेलको भनाइ छ । कांग्रेस आफैँभित्रको बेमेलमा अल्झिँदा सरकारमाथि आवश्यक खबरदारी पुग्न नसकेको उनले उल्लेख गरेका छन् ।
‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने छ,’ उनले भनेका छन् ।
विगतका कमजोरीहरूको सामूहिक जिम्मेवारी लिँदै आगामी १५औँ महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् । महाधिवेशनबाट आउने नेतृत्वलाई स्वीकार गरी लोकतन्त्र सुदृढीकरणमा लाग्न उनले नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टी स्थापनाको उद्देश्य र आदर्श संकटमा परेको भन्दै पौडेलले सत्ता प्राप्ति मात्र कांग्रेसको ध्येय हुन नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘जुन उद्देश्य र आदर्शका लागि यो पार्टी स्थापना भएको थियो, आज ती आधारभूत मूल्यमान्यता नै संकटमा परेका छन्। यस्तो बेला विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो।’
महामन्त्री पौडेलले सबै मतभेदलाई थाँती राखेर विना शर्त पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाली जनताको सुन्दर भविष्यका लागि एकजुट भई अगाडि बढ्न सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया