देउवा र खड्का समूह सर्वोच्च अदालतमा, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न माग

देउवा र खड्का समूह सर्वोच्च अदालतमा, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न माग


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै देउवा समूह सर्वोच्च पुगेको हो ।

देउवा र खड्काका तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिएको कांग्रेस इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका थिए ।

रिटमा कांग्रेसले हालै सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिका र त्यसअनुसार अघि बढाइएको प्रक्रिया रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ ।

देउवा समूहले आधिकारिकता विवादको टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर गरेको छ । आधिकारिकता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको उनीहरूको तर्क छ ।

कांग्रेसले आगामी २४ भदौदेखि वडा अधिवेशन सुरु गर्ने र १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

तर कांग्रेसभित्र महाधिवेशनको नेतृत्वलाई लिएर विवाद चर्किएको छ । इतर समूहको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने निर्णय गर्दै देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय गरिसकेको छ ।

संस्थापन पक्षले भने निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउने बताउँदै आएको छ । सभापति गगन थापाले समेत महाधिवेशन प्रक्रिया नरोकिने दाबी गर्दै आएका छन् ।