प्रहरीले भन्यो- गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी छैन

प्रहरीले भन्यो- गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी छैन


काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटमा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरू भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।

प्रहरी मुख्यालय नक्सालका अनुसार गत साउन ३१ गते छोरी वर्ष ३ की गरीमा चौधरी हराएको हुँदा खोजतलास गरीपाउँ भन्ने समेत व्यहोराको उनकी आमा मानमति चौधरी थारुले सोही दिन जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरी कार्यालयबाट माताहत लगायत तालुक कार्यालयहरूमा खोजतलासका लागि हुलिया परीपत्र गरिएको थियो ।

प्रहरीले अगाडि भनेको छ,‘जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोबाइल टोली निवेदकको घर पुगी निवेदिका आमासँग सोधपुछ गरी हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चौक, जितपुर, एयरपोर्ट, रंगशाला वरिपरिको जंगल, औराहा लगायतको शंकास्पद स्थानमा खोजतलास गरेको हो । सोही दिन प्रहरी कार्यालयबाट खटिएको टोलीले पथलैया, दशधुरे, सिमरा चौकलगायतका स्थानमा खोजतलास गरेको साथै क्यूआरटी टोलीले पथलैया, दुधौरा बस्ती, जितपुर, सिमरा चौकलगायतका स्थानमा भौतिक रुपमा खोजतलास गर्नुका साथै वडा कार्यालयमा रहेको सीसी क्यामेरा चेकजाँच गरेको हो,’ प्रहरीले अगाडि भनेको छ,‘मिति २०८३।०५।०१ गते यस कार्यालयबाट खटीएको क्यूआरटी टोलीले औराहा, परवानीपुरलगायत निवेदिका बस्ने स्थानको वरिपरिको जंगल एरियामा खोजतलास गरेको हो ।’

त्यस्तै, भदै १ गते प्रहरी कार्यालयबाट खटिएको टोलीले जितपुर, नितनपुर, छातापिपरा लगायतका स्थानमा खोजतलास गरेको, २ गते मृतकका बुबा, स्थानीय समाजसेवी र प्रहरीसहितको संयुक्त टोलीले शंकास्पद स्थानको सीसीटीभी फुटेज चेकजाँच गर्दै प्राविधिक तवरबाट समेत खोजतलास गरिएको पनि प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा २ गते जिल्ला बारा जितपुरसिमरा वडा नं १ स्थित बीरबहादुर रोकाको खाली घरमा शंकास्पद वस्तु मरेको गन्ध आएको जानकारी पाएको प्रहरीले जनाएको छ ।

सोही घटनास्थलमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत माग गरी खटी आएको पनि प्रहरीले जनाएको छ ।

२ गते शंकित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानबाट जितपुर वडा नं २ वस्ने भिमसेन थापाको छोरा वर्ष १६ को ना १ ज ७७५८ नम्वरको म्याजिकको सहचालक सुमन थापाले निज नाबालिकालाई चकलेट दिई ललाई फकाई गरी घटस्थलमा लगि करणी गरी मारेको खुल्न आएको र अर्का शंकित उल्लेखित म्याजिकका चालक जितपुरसिमरा वडा नं १ वस्ने वर्ष २४ को प्रोगेश चौधरीलाई पक्राउ गरी जवरजस्ती करणी तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी भदौ ३ गते बारा जिल्ला अदालतबाट ४ दिन को म्यादथप भई थप अनुसन्धान कार्यगरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।