काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एक्ल्याएर उसको सरकारलाई कमजोर पार्न ‘सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने घोषणा गरेपछि इरानले अमेरिकाको ‘आर्थिक युद्ध’मा सहभागी हुने कुनै पनि देशविरुद्ध प्रतिशोध गर्ने चेतावनी दिएको छ ।
इरानले यस्तो चेतावनी दिइरहँदा इजिप्टले भने तेहरान र वासिङ्टनलाई करिब ६ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्दै ‘कूटनीतिक बाटोमा फर्कन’ आग्रह गरेको छ ।
इरानका शीर्ष सुरक्षा अधिकारीले शनिबार यस्तो चेतावनी दिएका हुन् । तेहरानको अर्थतन्त्रमा थप दबाब पार्न सक्ने नयाँ प्रतिबन्ध अमेरिकाले घोषणा गर्ने तयारी गरिरहेका बेला इरानको चेतावनी आएको हो ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै छिमेकीसहित विश्वका सबै देशलाई अमेरिकाको ‘आर्थिक युद्ध’मा सहभागी नहुन आग्रह गरे ।
‘हामीमाथि आर्थिक प्रतिबन्ध लगाउन सहभागी हुने कुनै पनि देशलाई शत्रुका रूपमा लिइनेछ,’ उनले भने । उनले त्यस्ता देशविरुद्ध ‘भूकम्पीय’ स्तरको प्रतिशोध हुने चेतावनीसमेत दिए ।
रेजाइले इरानको रणनीति तीन चरणमा अघि बढ्ने बताए, जसको सुरुवात तनाव कम गर्न वार्ताबाट हुने उनको भनाइ थियो ।
‘हामी पहिले उनीहरूसँग वार्ता गर्नेछौँ । हामी कुराकानी गरेर अमेरिकाबाट अलग हुन र दूरी कायम गर्न आग्रह गर्नेछौँ । तर, उनीहरूले त्यसो गरेनन् भने हामी प्रहार गर्नेछौँ । हामी त्यो देशका हितलाई निशाना बनाउनेछौँ,’ उनले भने ।
रेजाइको यस्तो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ‘सबैभन्दा कडा आर्थिक अभियान’ सञ्चालन गर्ने घोषणा गरेको केही दिनपछि आएको हो । इरानलाई ‘कुनै पनि प्रकारको राहत’ दिने देशले ‘ठूलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी पनि ट्रम्पले दिएका थिए ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले त्यसको भोलिपल्ट ट्रम्पको चेतावनीलाई दोहोर्याउँदै भने, ‘तपाईं या त हामीसँग हुनुहुन्छ, या हाम्रो विरुद्धमा ।’
उनले इरानबाट निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी खरिद गर्ने चीनसँग पनि अमेरिकालाई सहयोग गर्न आग्रह गरेका छन् । बेसेन्टले सोमबार प्रस्तावित प्रतिबन्धबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ ।
रोकिएको वार्ता
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार अमेरिकाले नयाँ आर्थिक प्रतिबन्ध घोषणा गर्ने तयारीप्रति आपत्ति जनाउँदै यसलाई ‘संयुक्त राष्ट्रसंघका प्रत्येक स्वतन्त्र सदस्य राष्ट्रमाथि बाह्य सार्वभौमिकता थोपर्ने प्रयास’ भएको बताए ।
‘यस्ता दोस्रो पक्षमाथि लगाइने प्रतिबन्धको अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार छैन,’ उनले एक्समा लेखेका छन् ।
द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास रोकिएका बेला तनाव थप चर्किएको हो । इरानले नाकाबन्दी गरेपछि प्रमुख समुद्री व्यापारिक मार्ग होर्मुज जलडमरूमध्यमा आवागमन पनि प्रभावकारी रूपमा ठप्प छ ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त रूपमा आक्रमण सुरु गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको थियो । त्यसपछि तेल र मलजस्ता वस्तुको मूल्य तीव्र रूपमा बढेको थियो ।
शनिबार इरानको सरकारी समाचार संस्था आईआरएनएले इराकी तेल ट्यांकरलाई होर्मुज जलडमरूमध्य हुँदै पार गर्न विशेष अनुमति दिइएको जनाएको छ ।
तर, होर्मुजको अवस्था अझै ‘अनिश्चित’ रहेको अलजजिराका तोहिद असादीले बताएका छन् । अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म जलडमरूमध्य बन्द रहने इरानले जनाएको छ ।
जलमार्गमा जहाज आवागमन व्यवस्थापनबारे इरान र ओमानबीच वार्ता पनि जारी रहेको बताइएको छ । ‘तर अहिलेसम्म कुनै सम्झौता भएको छैन,’ असादीले भने ।
यसैबीच, इजिप्टको विदेश मन्त्रालयले विदेशमन्त्री बद्र अब्देलात्ती र उनका इरानी समकक्ष अब्बास अराघ्चीबीच फोनवार्ता भएको जनाएको छ । उनीहरूले क्षेत्रको समग्र अवस्था तथा तनाव कम गर्न अनुकूल वातावरण निर्माण गर्ने जारी प्रयासबारे छलफल गरेका थिए ।
दुवैले ‘कूटनीतिक बाटोमा फर्कने’ विषयमा पनि छलफल गरेका थिए । यसमा ओमान र इरानबीचको वार्तालाई अघि बढाउने तथा अमेरिका–इरान समझदारी कार्यान्वयन पुनः सुरु गर्ने विषय समेटिएको थियो । यसको अन्तिम लक्ष्य विभिन्न सरोकारलाई सम्बोधन गर्दै क्षेत्रीय सुरक्षा र स्थायित्व बढाउने व्यापक तथा दिगो सम्झौतामा पुग्नु रहेको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।
अराघ्चीले इजिप्टका विदेशमन्त्रीलाई ‘हालैका घटनाक्रम, वार्ताको अवस्था र त्यसका चुनौतीबारे इरानको दृष्टिकोण’ जानकारी गराएका थिए । मन्त्रालयले यसबारे थप विवरण दिएको छैन ।
अराघ्चीले उक्त फोनवार्ता भएको पुष्टि गरेका छन् ।
उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरसँग पनि फोनवार्ता गरेको बताएका छन् । उनीहरूबीच ‘पश्चिम एसियाली क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षा सुदृढ गर्ने प्रभावकारी समाधान’बारे छलफल भएको उनले बताएका छन् ।

प्रतिक्रिया