काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख प्रतिपक्षका रूपमा पार्टीले संसद्मा जनसरोकारका विषयलाई प्रभावकारी र सशक्त ढंगले उठाउने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा सहभागी हुँदै थापाले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नीतिगत विषयमा स्पष्टता र गम्भीर छलफल आवश्यक रहेको बताए।
उनले प्रतिपक्षमा रहँदा पार्टीको जिम्मेवारी थप महत्वपूर्ण हुने उल्लेख गर्दै संसदीय भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्न आवश्यक तयारी भइरहेको बताए।
‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसद्मा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,’ थापाले भने।
कार्यक्रममा भएका छलफलबाट पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नीतिगत विषयमा थप जानकारी हासिल गर्ने र त्यसले आगामी दिनमा पार्टीको दृष्टिकोण निर्माणमा सहयोग पुग्ने उनले बताए।
थापाले कार्यक्रमका क्रममा उठेका विषय तथा प्राप्त सुझावलाई संसदसम्म पुर्याउने प्रतिबद्धतासमेत जनाए।

प्रतिक्रिया