काठमाडौं । नेकपा एमालेको चुनावी पराजयको प्रमुख कारणमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु रहेको कार्यदलको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई नै पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाइँदा निर्वाचन ओलीको नेतृत्व र उनको विगतको सरकारको मूल्यांकन गर्ने चुनावमा परिणत भएको थियो ।
कार्यदलले आन्दोलनका क्रममा सरकारमाथि उठेका प्रश्न र जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको अवस्थामा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु एमालेका लागि प्रतिकूल बनेको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा निर्वाचनको बहस पार्टीका नीति तथा कार्यक्रमभन्दा पनि ‘भदौ २३–२४ को घटना’ र ‘प्रधानमन्त्री को बन्ने?’ भन्ने विषयमा केन्द्रित हुन पुगेको उल्लेख गरिएको छ । त्यसको प्रत्यक्ष असर एमालेको चुनावी परिणाममा परेको कार्यदलको विश्लेषण छ ।
कार्यदलले एमालेको पराजयलाई केवल बाह्य परिस्थितिको परिणाम नभई नेतृत्व, सरकारको कार्यशैली, संगठन र जनतासँगको सम्बन्धमा देखिएका कमजोरीको परिणामका रूपमा समेत विश्लेषण गरेको छ ।
यसै सन्दर्भमा प्रतिवेदनले विगतको चुनावी पराजयपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको नजिरसमेत उल्लेख गरेको छ । पछिल्लो पराजयपछि पार्टी नेतृत्वले पनि नैतिक जिम्मेवारी लिनुपर्ने बहसलाई प्रतिवेदनले अघि सारेको छ ।

प्रतिक्रिया