काठमाडौं । भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री (HADR), औषधि र खाद्य प्याकेट पठाएको छ।
भारतबाट राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडिसकेको भारतीय पक्षले जनाएको छ। भारतले नेपालमा जारी उद्धार तथा राहत प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
भारतीय पक्षका अनुसार नेपालमा आएको विपद्का विषयमा भारतले नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ। राहत तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई भारतले जारी राख्ने जनाएको छ।
यसअघि बुधबार राति भारतले १० टन राहत सामग्री नेपाल पठाएको थियो। त्यसपछि दोस्रो खेपका रूपमा थप ३७.५ टन सामग्री पठाइएको हो।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण जनधनको क्षति भइरहेका बेला भारतले राहत सामग्री पठाएको हो।

प्रतिक्रिया