काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको भीषण बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा उद्धारका लागि अमेरिकी अधिकारीहरू सक्रिय भएका छन्।
ट्रम्पले नेपालका नेतृत्वसँग सम्पर्कमा रहेको र नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्। उनले रसुवाको बाढीले निम्त्याएको विनाशलाई ‘असाधारण’ भन्दै शक्तिशाली लेदो र पानीको भेलले बलिया तथा राम्ररी बनेका भवनसमेत काठका टुक्राझैँ बगाएको बताए।
‘हामीले नेपालमा फोन गरेर आवश्यक पर्ने जुनसुकै सहयोग दिने प्रस्ताव गरेका छौँ। नेपालको नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ,’ ट्रम्पले भने। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा करिब ५० देखि ६० अमेरिकी नागरिक रहेको हुन सक्ने भए पनि प्रभावित अमेरिकीहरूको पूर्ण विवरण अझै प्राप्त भइसकेको थिएन।
तर अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढीपछि ९० जना अमेरिकी नागरिक बेपत्ता रहेको सीएनएनले जनाएको छ। पूर्व ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी नागरिकको सुरक्षा प्रशासनको पहिलो प्राथमिकता रहेको बताइन्। उनले उद्धार तथा सहयोगका लागि अमेरिका नेपालसँग समन्वयमा रहेको जानकारी दिइन्।
अमेरिकाले ५ लाख डलर आपत्कालीन सहयोग गर्ने
अमेरिकी विदेश मन्त्रालयले रसुवाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। राहत तथा उद्धार अभियानमा सहयोग गर्न अमेरिकाले विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकारसमेत नेपाल पठाएको छ। अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिनेछ। अमेरिकी विदेश मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोग गरिरहेको जनाएको छ।
बाढीका कारण तत्काल सहयोग आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न, स्थानीय समाचारमा ध्यान दिन र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’मा आबद्ध हुन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया