नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।
साथै राष्ट्रपति पौडेलले यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् । उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।
साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए ।
सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम् पुनर्स्थापनाका लागि सरकार र सहयोगदाता सरोकारवालाले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए ।
राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन् ।

प्रतिक्रिया