काठमाडौं । सभामुख डीपी अर्यालले प्राकृतिक विपद्बाट प्रभावित नागरिकले राज्यको उपस्थिति महसुस गर्ने गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन तीनै तहका सरकारलाई आग्रह गरेका छन्।
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि सभामुख अर्यालले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताएका हुन्।
उनले पीडित परिवारले समयमै राहत पाउने र सुरक्षित बसोबासको व्यवस्था हुने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन सरकारसँग समन्वय भइरहेको उनको भनाइ छ।
‘पीडित परिवारले कति छिटो राहत पाए र सरकारको उपस्थिति महसुस गरे भन्ने विषय महत्त्वपूर्ण हो। एक जना पनि पीडित नागरिकले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन,’ उनले भने।

प्रतिक्रिया