काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् ।
सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण सिर्सिया नदीको प्रदूषण बढ्दै गएको बताइन् ।
उनले भनिन्, ‘पछिल्लो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गरी सिर्सिया खोलालाई प्रदूषित गरेकाले यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ । यस क्षेत्रका किसानहरूले पशुपालन गरेका गाई, भैँसीलगायत अन्य पशु तथा जीवजन्तुलाई मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने लाखौँ जनजीवनसमेत प्रभावित भएको छ । सो सम्बन्धमा राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सचेत गराउँदा पनि हालसम्म कुनै किसिमको सुधार नदेखिएको र यस क्षेत्रका जनताको निरन्तर गुनासो आइरहेकोले यस सम्बन्धमा मन्त्रालय गम्भीर भएको छ ।’
उनले सिर्सिया नदी वीरगञ्जको व्यापारिक क्षेत्रसँगै पर्साका सिर्सिया, राजपुर, रामगढवा, रामवन, अशोकबाटिका, विन्दवासिनीलगायत दर्जनौँ गाउँका लागि जीवनरेखाका रूपमा रहेको उल्लेख गरिन् ।
मन्त्री यादवले सिमरा–वीरगञ्ज करिडोरमा सञ्चालित दर्जनौँ उद्योगले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गर्दै सिर्सिया नदीलाई प्रदूषित बनाएको बताइन् । नदी प्रदूषणका कारण यस क्षेत्रका किसानले पाल्दै आएका गाई, भैँसीलगायत पशु तथा अन्य जीवजन्तु प्रभावित हुनुका साथै नदी आसपास बसोबास गर्ने लाखौँ नागरिकको जनजीवनमा समेत असर परेको उनको भनाइ छ।
राज्यका सम्बन्धित निकायले पटक–पटक सचेत गराउँदा पनि नदी प्रदूषण नियन्त्रणमा अपेक्षित सुधार नदेखिएको भन्दै मन्त्री यादवले स्थानीयवासीबाट निरन्तर गुनासो आइरहेको बताइन् ।
उनले सिर्सिया नदी प्रदूषणको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने बताइन् ।

प्रतिक्रिया