काठमाडौ ।नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनको कार्यतालिका परिवर्तन गरेसँगै जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको हो। यसअघि जिल्ला र प्रदेश अधिवेशन हुने तय गरिएको मितिमा वडा र गाउँपालिका तथा नगरपालिका अधिवेशन हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा वडा अधिवेशन आउँदो असोज ३ र ४ गते तय गरिएको छ। त्यस्तै, गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते तोकिएको छ भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते सारिएको छ।
वडा, पालिका र क्षेत्रीय अधिवेशनको मिति सारिएपछि जिल्ला र प्रदेश अधिवेशनमा अन्योलमा परेको जनाइएको छ। यसअघि जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते हुने तय गरिएको थियो।
नयाँ कार्यतालिकामा केन्द्रीय महाधिवेशन भने यसअघिकै समयमा असोज १६ देखि १९ गतेसम्म हुने भनिएको छ। जिल्ला र प्रदेश अधिवेशनका लागि भने नयाँ समयतालिका आउने सूचनामा उल्लेख छ।
‘जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया