रसुवा बाढीले अवरुद्ध नुवाकोटको विदुर १० र ११ मा बल्यो बत्ती

रसुवा बाढीले अवरुद्ध नुवाकोटको विदुर १० र ११ मा बल्यो बत्ती


काठमाडौँ । सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।

विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो ।

यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुनः सुचारु गरिएको छ ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुनःसुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुन: सुरु भएको छ ।

मन्त्री श्रेष्ठकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतितश विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।

साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको मन्त्री श्रेष्ठले बताए ।

उनकाअनुसार नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका छन् ।