जेन–जी आन्दोलनमा दमन र विध्वंस गर्नेमाथि छानबिन गर : नेकपा

जेन–जी आन्दोलनमा दमन र विध्वंस गर्नेमाथि छानबिन गर : नेकपा


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको (जेन–जी) आन्दोलन’ र त्यस क्रममा भदौ २४ गते भएका तोडफोड, आगजनी तथा विध्वंसका घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस वक्तव्य जारी गर्दै भदौ २४ को विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रण गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचार विरोध र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्प्रेरित भई युवाहरूले सामाजिक सञ्जालमार्फत सुरु गरेको आन्दोलनमा राज्यले दमनको बाटो रोजेको र उत्पन्न परिस्थितिको फाइदा उठाउँदै संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको बताएका छन् ।

उनले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय एवम् राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस मच्चाइएको विषयमा छानबिन हुनु पर्ने बताएका छन् । उनले भनेका छन्, ‘आन्दोलन उग्र बनेपछि वास्तविक जेन–जी अभियन्ताहरूले भदौ २३ गते दिउँसो नै ‘घुसपैठ भयो’ भन्दै ‘घर फर्कौं’ भनी गरेको आह्वान अनि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट र आगजनी निरन्तर हुनु, सङ्गठित समूहको परिचालन देखिनु र प्रज्वलनशील पदार्थको प्रयोग हुनुले घटना पछाडि गम्भीर षड्यन्त्र रहेको सङ्केत गर्दछ ।’

प्रचण्डले संसद् विघटन, गैरदलीय सरकार गठन र निर्वाचनको घोषणा जस्ता कदमले पनि समग्र घटनाको उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन नथन्क्याई तत्काल कार्यान्वयन गर्न र आयोगले औंल्याएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

जेन–जीले खोजेको परिवर्तन अझै प्राप्त हुन नसकेको र नागरिकहरू फेरि निराश बनेको वक्तव्यमा दाबी गरिएको छ। ‘महँगी, शिथिल अर्थतन्त्र, बेरोजगारी, युवा पलायन, बढ्दो सार्वजनिक ऋण र करको बोझका कारण सर्वसाधारण नागरिक पीडित बनेका छन्,’ उनले भनेका छन्, ‘नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचना (संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, नागरिक स्वतन्त्रता) कमजोर पार्न खोजेको छ।’

प्रचण्डले नेकपा त्यस्ता प्रतिगामी र निरंकुश प्रयासको दृढतापूर्वक प्रतिवादमा रहने बताएका छन् । उनले युवाको आवाज दबाएर नभई सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने बताउँदै प्राप्त अधिकारको रक्षाका लागि शान्ति, संविधान र लोकतन्त्र पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, युवा पुस्ता र नागरिक समाजलाई एकताबद्ध हुन अपिल गरेका छन् ।