दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पार्टीले निष्काशन गरेपछि प्रदेश सभा सचिवालयले उनको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको छ।
प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम सचिवालयले सूचना सार्वजनिक गरेको हो।
जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय गरेको थियो। पार्टीले पटकपटक स्पष्टीकरणको अवसर दिँदा समेत काफ्लेले बेवास्ता गरेको र पार्टी तथा संसदीय दलको निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएको छ।
पार्टीको निर्णयबारे जानकारी गराउँदै जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो। उक्त पत्र सभामुखसमक्ष पेश भएपछि अधिवेशन चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिइएको थियो।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा पार्टीले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारी सार्वजनिक गरिएको उल्लेख छ।
काफ्लेमाथि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपसमेत छ। पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको जसपा नेपालले जनाएको छ।
अब प्रदेश सभा सचिवालयबाट प्रकाशित सूचनापछि काफ्लेको प्रदेश सभा सदस्य पदसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया