काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ ।
साउन र भदौमा १ लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ हजार ५९९ ले कम हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा १ लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ४.११ प्रतिशतले घटेको हो ।
विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा १ लाख १२ हजार ३१५ पुरुष र १८ हजार १६८ महिला छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा १ लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया