काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहतको काममा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार चःमतिस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावितको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले बताए ।
बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराएका थिए । खोज तथा उद्धार र राहतको काम जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सँगसँगै अघि बढिरहेको जानकारी बैठकमा गराइएको खरेलले बताए ।
बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तत्काल गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ । अझै सम्पर्कविहीन नागरिकको अवस्था यथाशीघ्र यकिन गर्नुपर्ने र कानुनी समस्या भए आवश्यक व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
बाढीपछि स्थगित गरिएका पार्टीका गतिविधि भने आइतबारदेखि नै पुनः सञ्चालन गर्ने निर्णय भएको खरेलले जानकारी दिए ।

प्रतिक्रिया