काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाको ४५.१ अर्ब डलर खर्च भएको पेन्टागनले अमेरिकी संसद् (कांग्रेस) लाई जानकारी गराएको छ ।
स्रोतका अनुसार सेप्टेम्बर ३ सम्म युद्धमा ४३.६ अर्ब डलर खर्च भएको थियो भने थप इन्धन खर्चबापत १.५ अर्ब डलर जोडिएको छ ।
यद्यपि, यो अनुमानले युद्धको कुल लागत भने समेट्दैन । युद्धका क्रममा क्षति भएका अमेरिकी सैन्य आधार र भवन मर्मतको खर्च यसमा समावेश छैन । साथै, सांसदहरूले माग गरेअनुसार सैन्य कारबाहीका अप्रत्यक्ष लागतको विस्तृत विवरण पनि पेन्टागनले दिएको छैन ।
पेन्टागनको ४५.१ अर्ब डलरको अनुमान अगस्ट १ सम्म युद्धमा ३८ अर्ब डलर खर्च हुने अमेरिकी कंग्रेसनल बजेट अफिस (सीबीओ) को अनुमानभन्दा बढी हो । यसअघि पेन्टागनले जुलाईमा युद्धको लागत ३७.५ अर्ब डलर पुगेको अनुमान गरेको थियो ।
सीबीओको अनुमानमा पनि युद्धका क्रममा क्षति भएका अमेरिकी संरचनाको मर्मत खर्च समावेश थिएन । कार्यालयका अनुसार कुल खर्चको ठूलो हिस्सा युद्ध सामग्री खरिदमा भएको थियो ।
सीबीओले अगस्ट १ पछि पनि युद्ध जारी रहेमा अमेरिकालाई प्रतिमहिना करिब २ देखि ३ अर्ब डलर थप खर्च हुने अनुमान गरेको थियो । युद्ध चर्किएको अवस्थामा मासिक खर्च अझ बढी हुने उसको अनुमान थियो ।
सीबीओले युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकमा मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको जानकारी पनि कांग्रेसलाई दिएको छ । अमेरिकी नागरिकहरू अर्थतन्त्रप्रति थप चिन्तित भइरहेका बेला युद्धका कारण लागत बढ्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया