काठमाडौ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले गाडीभित्रै बसेर आफैँले चलाउने बसमा आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले सोमबार दिउँसो आफैँ सवार बसमा आगजनी गरेका हुन्।
प्रहरीका अनुसार आगलागीको समयमा बसमा कुनै पनि यात्रुहरू थिएनन्। यात्रुविहीन अवस्थामा चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि गाडी ह्वारह्वार्ती बलेको थियो। घटनालगत्तै पुगेको दमकल र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आफैँले लगाएको आगोमा परेर चालक लामा गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।
चालकले आफ्नै बसमा आगो लगाउनुको यकिन कारण अझै खुल्न सकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो चरम कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै यसबारे गहन अनुसन्धान भइरहेको बताए। “घटना भर्खरै घटेकाले यसबारे विस्तृत अनुसन्धान भइरहेको छ, सत्यतथ्य पत्ता लागेपछि थप विवरण सार्वजनिक गरिनेछ,” एसएसपी घिमिरेले भने।

प्रतिक्रिया