दुई महिनामा ११ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

दुई महिनामा ११ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता


काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ परियोजनामार्फत कुल ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा भने २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो । यसअनुसार गत वर्षको तुलनामा चालू आवको पहिलो दुई महिनामा प्रतिबद्ध रकम उल्लेख्य घटेको छ भने परियोजनाको संख्या बढेको छ ।

चालू आवको दुई महिनामा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटनतर्फ ७० परियोजनाका लागि ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

त्यसपछि सेवा क्षेत्रमा २६ परियोजनामार्फत ३ अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक उद्योगतर्फ १८ परियोजनाका लागि १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । सूचनामूलक क्षेत्रमा भने सबैभन्दा धेरै २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

ऊर्जा र कृषिमूलक क्षेत्रमा एक–एक परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ र कृषिमूलक उद्योगको एउटा परियोजनाका लागि २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।