काठमाडौं । पाँच ओभरको खेलमा भारतले जापानलाई २ रनले पराजित गरेको छ ।
पाँच ओभरमा जितका लागि ३३ रनको लक्ष्य पाएको जापान भारतको स्कोरनजिक पुगे पनि अन्ततः २ रनले पराजित भयो ।
जापानमा भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु सन् १९३० मा डन ब्राडम्यानले श्रीलंकामा छोटो भ्रमणका क्रममा खेलेको खेलजस्तै असामान्य देखिन्थ्यो । त्यस खेलमा ब्राडम्यान पहिलो बलमै हिट–विकेट भएका थिए । जापानविरुद्धको खेलमा पनि भारत लगभग त्यस्तै अप्रत्याशित अवस्थाबाट गुज्रियो ।
तर, भारतले पाँच ओभरको छोटो खेलमा कठिन परिस्थिति पार गर्दै ३२ रनको न्यून स्कोर पनि बचाउन सफल भयो । यससँगै पाँच ओभरको टी–२० खेलमा सबैभन्दा कम रनको योगफल बचाउने कीर्तिमान पनि भारतको नाममा बनेको छ ।
खेलमा पिच निकै सुस्त थियो भने आउटफिल्ड पनि अत्यन्तै स्लो थियो ।
अन्तिम ओभरमा जापान लक्ष्यनजिक पुगिरहेका बेला दिइएका दुई वाइडमध्ये एउटा स्क्वायर लेग अम्पायरले हस्तक्षेप गरेपछि उल्टाइएको थियो ।
न्युजिल्यान्डका अम्पायर क्रिस ब्राउनले आफ्ना सहकर्मीलाई बोलाएर दोस्रो वाइडको निर्णय उल्टाउन लगाए । त्यसपछि पनि अन्तिम ओभर निकै रोमाञ्चक रह्यो । अक्षर पटेलले २ ओभरमा ७ रन मात्र दिएर विकेट नलिए पनि भारतको जित सुरक्षित गरे ।
जापानले भारतलाई ३२ रनमै रोक्यो
अघिल्ला दुई दिनको भारी वर्षापछि खेल सुरु हुन लामो समय लाग्यो । मैदान सुकाउन पर्याप्त आधुनिक सुविधा नभएकाले वर्षा नभएको दिनमा पनि खेल सुरु हुन ढिलाइ भयो । अन्ततः अम्पायरले पाँच–पाँच ओभरको खेलबाट टी–२० अन्तर्राष्ट्रियको मान्यता पुग्ने गरी खेल सुरु गराए ।
भारतले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । कप्तान श्रेयस अय्यरले १३ खेलमा ११औँ पटक टस जितेका थिए । तर, विश्वकै उत्कृष्ट टी–२० ब्याटरमध्ये एक मानिने अभिषेक शर्माले आफूले सामना गरेको पहिलो बलमै सट खेल्ने क्रममा विकेट गुमाए ।
पिच निकै सुस्त र धेरै टर्न हुने भएकाले खेलका सबै १० ओभर स्पिनरले बलिङ गरे । पूरै खेलमा चार वटा मात्र चौका प्रहार भए ।
शीर्षक्रमका ब्याटरहरू ठूलो सट खेल्ने प्रयासमा आउट भएपछि अय्यरले आक्रामकता घटाउँदै १२ बलमा १६ रन बनाएर भारतीय इनिङ्स सम्हाले । भारतले ५ ओभरमा ३२ रन बनायो ।
भारतले लक्ष्य रक्षा गर्न सुरु गरेदेखि नै अक्षर पटेलको भूमिका महत्वपूर्ण देखिएको थियो । उनले पहिलो ओभरमा दुई रन मात्र दिए । दीप स्क्वायर लेगबाट इशान किशनले गरेको सिधा थ्रोमा लाचलान यामामोटो–लेक रनआउट भए ।
दुई ओभरपछि जापान ८ रनमा २ विकेट गुमाएर दबाबमा थियो । तर, तेस्रो ओभरमा रवि बिश्नोईविरुद्ध १० र चौथो ओभरमा वासिङ्टन सुन्दरविरुद्ध ७ रन जोड्दै जापानले खेलमा फर्किने प्रयास गर्यो ।
यसपछि अन्तिम ओभरमा जापानलाई जितका लागि ८ रन आवश्यक थियो । वाइडको विवादित निर्णयका कारण खेल झन् रोमाञ्चक बन्यो । तर, अक्षरले निकै घुमिरहेको पिचमा पनि सटीक बलिङ गर्दै जापानलाई आवश्यक विजयी रन बनाउन दिएनन् र भारत २ रनले विजयी भयो ।

प्रतिक्रिया