सरकारको सार्वजनिक ऋण पौने ३० खर्ब

सरकारको सार्वजनिक ऋण पौने ३० खर्ब


काठमाडौं । सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो ।

असार मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ थियो । असारको तुलनामा भदौ मसान्तसम्म सार्वजनिक ऋण करिब ८ अर्ब ६४ करोड रुपैयाँले घटेको छ । सरकारले नयाँ ऋण लिनुभन्दा यस अवधिमा सावाँ भुक्तानी बढी गरेपछि सार्वजनिक ऋण घटेको हो ।

भदौसम्म सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको छ । सोही अवधिमा सावाँतर्फ ७० अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । विनिमय दरमा भएको परिवर्तनका कारण भने सार्वजनिक ऋणमा ४३ करोड ६३ लाख रुपैयाँ थपिएको कार्यालयले जनाएको छ ।

भदौ मसान्तसम्म सरकारको आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २०.६३ प्रतिशत र बाह्य ऋण २४.४१ प्रतिशत बराबर रहेको छ । कुल सार्वजनिक ऋण जिडिपीको ४५.०५ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । भदौसम्म ६१ अर्ब ५ करोड रुपैयाँ ऋण उठाइसकिएको छ, जुन वार्षिक लक्ष्यको ९.२८ प्रतिशत हो ।

यस वर्ष सरकारले ४ खर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये भदौसम्म ५० अर्ब रुपैयाँ उठाइसकेको छ । यो वार्षिक लक्ष्यको १२.२० प्रतिशत हो ।

त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य रहेकोमा भदौसम्म ११ अर्ब ५ करोड रुपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको ४.४५ प्रतिशत हो ।

भदौसम्म उठाइएको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.८९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.११ प्रतिशत रहेको छ ।

सरकारले साउनमा २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो भने भदौमा ३० अर्ब रुपैयाँ उठाएको छ । बाह्य ऋणतर्फ साउनमा ३ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएकोमा भदौमा ७ अर्ब २१ करोड रुपैयाँ प्राप्त भएको छ ।