काठमाडौं — बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र (डिप्रेसन) को प्रभाव तथा देशभर कायम मनसुनी वायुका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त गहिरो न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरबीच, कलिङपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरिसकेको छ। प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
हाल कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कहाँ-कहाँ वर्षा ?
दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने पूर्वानुमान छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि यस्तै मौसम रहनेछ।
मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमको तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि वर्षा कायमै रहने
राति देशभर अधिकांश बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, डुबान, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया