बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक


काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा ठूलो वर्षा हुनसक्ने भएकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको अधिकारीले बताए ।

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा समेत सवारी आवागमन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

प्रशासनले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन र स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ । यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई सहजीकरण गर्न अनुरोध गरिने भएको छ ।

त्यस्तै, नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रे र सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वार्टरलाई उद्धार टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।