काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीका एक सल्लाहकारले अमेरिका वा इजरायलले फेरि आक्रमण गरे युद्धलाई हिन्द महासागरसम्म विस्तार गर्ने चेतावनी दिएका छन् ।
मेजर जनरल याह्या रहिम सफावीले इरानको अर्धसरकारी समाचार संस्था फार्स न्यूज एजेन्सीमार्फत सार्वजनिक गरिएको भिडिओमा यस्तो चेतावनी दिएका हुन् ।
“संघर्ष फारसको खाडी र होर्मुज जलडमरूबाट लाल सागरसम्म फैलिइसकेको छ । त्यसैले थप युद्ध भए यसको मोर्चा अझ विस्तार हुँदै हिन्द महासागर र सम्भवतः त्यसभन्दा परसम्म पुग्न सक्छ,” सफावीले भने ।
अमेरिका–इजरायलको आक्रमण फेरि सुरु भएमा सबैभन्दा खराब अवस्थाका लागि इरानी सेनाले योजना तयार पारेको पनि उनले बताए । उनले लाल सागरको तटीय क्षेत्र नियन्त्रणमा लिएको भन्दै यमनका हुथी विद्रोहीको प्रशंसा समेत गरे ।
“एक सय वर्षभन्दा बढी समयदेखि यमनीहरूले आफ्नो क्षेत्रीय अखण्डतामा कुनै पनि किसिमले हस्तक्षेप गर्न खोज्ने आक्रमणकारी शक्तिविरुद्ध प्रतिरोध गर्दै आएका छन्,” उनले भने ।
“अमेरिकीहरूले नयाँ युद्ध सुरु गरेमा लाल सागर र बाब अल–मन्देब जलडमरूलाई केन्द्र बनाएर नयाँ मोर्चा उनीहरूकै आँखाअगाडि खुल्न सक्छ,” सफावीले चेतावनी दिए ।

प्रतिक्रिया