एमाले बैठक : सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनीत

एमाले बैठक : सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनीत


काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।

ललितपुरको रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको एमालेले जनाएको छ ।

बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

एमालेका अनुसार स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् ।

त्यस्तै, काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरिएको छ ।

बैठकले स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा तेस्रो केन्द्रीय कमिटी बैठकबाट समेत प्रस्तुत भएको बताएका थिए ।

भोटेकोशी बाढीबारे सरकारको आलोचना

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले बाढीबाट विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखेर पुनस्र्थापनाको काम तत्काल अघि बढाउन माग गरेको छ ।

ध्वस्त भएका पुल तथा सडक मर्मत गरी प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनः सञ्चालन गर्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि माग गरिएको छ ।

बैठकले विपद्का समयमा सरकारको उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल र अन्य पक्षसँग पर्याप्त समन्वय नगरेका कारण उद्धार तथा राहत प्रभावित भएको एमालेको आरोप छ ।

त्यस्तै, विपद्को समयमा उद्धार तथा राहतमा खटिएका पार्टीसम्बद्ध जनसंगठन र स्वयंसेवकको प्रशंसा गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, बागमती प्रदेश सरकार तथा स्थानीय तहलाई धन्यवाद दिएको छ ।