काठमाडौं । दुईदिने भ्रमणको क्रममा आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज साँझ शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको बसोबास प्रबन्ध गरिएको नयाँ दिल्लीको मानसिंह रोडस्थित ताजमहल होटेलमा यो भेट भएको हो । उनीहरूबीच करिब २५ मिनेट कुराकानी भएको थियो ।
उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।
उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेको प्रधानमन्त्री वालेनको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन् । यसैगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नयाँदिल्लीस्थित नेपाली दूतवासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापा भेटवार्तामा सहभागी छन् ।
प्रधानमन्त्री शाह आज दिउसो नेपाल वायुसेवा निगमको उडानबाट नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट वाणिज्य तथा उद्योग राज्यमन्त्री जीतिन प्रसादले स्वागत गरेका थिए ।

प्रतिक्रिया