‘जसले एआईमा जित्छ, उसैले जित्छ !’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी आफ्नो महत्वाकांक्षा र अमेरिकाको मुख्य प्रतिद्वन्द्वीका रूपमा चीनलाई हेर्ने दृष्टिकोणबारे स्पष्ट रूपमा बताउँदै आएका छन् ।
उनका चिनियाँ समकक्षी सी चिनफिङले भने यति स्पष्ट शब्दमा नबोले पनि उनको दृष्टिकोण पनि उस्तै रहेको देखिन्छ ।
‘चीन यसलाई स्पष्ट रूपमा एउटा दौडका रूपमा हेर्छ । चीन एआईमा नेतृत्वदायी शक्ति बन्नुपर्छ भन्ने उसको धारणा छ । उनीहरू एआईलाई शक्ति बढाउने माध्यमका रूपमा हेर्छन्,’ मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिजकी रेबेका आर्सेसाटीले भनिन् ।
यसको प्रमाण दुवै देशका अभिव्यक्तिभन्दा बाहिर पनि देखिन्छ । सीले सार्वजनिक रूपमा यसलाई कति जोड दिए भन्ने फरक कुरा हो, चीनको प्राविधिक महत्वाकांक्षाको केन्द्रमा भने एक दशकभन्दा बढी समयदेखि एआई रहँदै आएको छ ।
ट्रम्पका लागि एआईमा चीनलाई उछिन्नु यस प्रविधिले मानिसलाई पार्न सक्ने जोखिमभन्दा महत्वपूर्ण देखिन्छ । उनले एआईका जोखिमसम्बन्धी केही चेतावनीलाई ‘ठगी’ भन्दै आएका छन् ।
तर चीनको विदेश मन्त्रालयले ‘खतराको भाष्य’ र टकरावले विश्वव्यापी एआई शासनलाई कमजोर बनाउने चेतावनी दिँदै एआईबाट सबैलाई लाभ पुग्ने सुनिश्चित गर्न सहकार्य आवश्यक रहेको बताएको छ ।
यही कारण बिहीबार ट्रम्प र सीबीच भेटवार्ता हुँदा एआईसम्बन्धी उनीहरूका महत्वाकांक्षा महत्वपूर्ण विषयमध्ये एक हुनेछन् । उनीहरूले गर्ने छलफल र निर्णयले विश्वभर प्रभाव पार्न सक्नेछ ।
एआईमा अमेरिका अगाडि छ ?
एआईमा अमेरिका र चीन विश्वका प्रमुख शक्ति हुन् भन्नेमा शंका छैन । तर, कुन देश अगाडि छ भन्ने कुरा सफलता कसरी मापन गरिन्छ भन्नेमा निर्भर गर्छ ।
सबैभन्दा उन्नत एआई मोडल विकास गर्ने क्षेत्रमा अमेरिकी कम्पनीहरू अगाडि छन् । अधिकांश मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्ने प्रणाली एन्थ्रोपिक, गुगल र ओपनएआईजस्ता अमेरिकी कम्पनीले विकास गरेका छन् ।
फेब्रुअरी २०२५ मा चीनको डीपसिकले विकास गरेको एआई मोडलले केही समय अमेरिकाको शीर्ष मोडलसँग लगभग बराबरी गरेको थियो । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार मार्च २०२६ सम्म एन्थ्रोपिकको शीर्ष मोडल अन्य मोडलभन्दा २.७ प्रतिशतले मात्र अगाडि थियो ।
अमेरिकाको एउटा फाइदा एआई कम्पनीहरूमा भइरहेको ठूलो लगानी पनि हो । अग्रपंक्तिका एआई प्रयोगशालाहरू नयाँ मोडल प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माणमा ठूलो रकम खर्च गरिरहेका छन् ।
अमेरिकी सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीहरूको वृद्धिले ठूलो प्रभाव पारेको छ । अमेरिकी अर्थतन्त्रको विस्तारको एउटा ठूलो हिस्सा एआई कम्पनीहरूको तीव्र वृद्धि र भविष्यमा हुने अपेक्षित आम्दानीमा आधारित छ ।
यसले पनि ट्रम्पले एआईलाई अमेरिकी सफलताको महत्वपूर्ण आधार किन ठानेका छन् भन्ने बुझ्न मद्दत गर्छ ।
चीनको एआई विकासलाई सीमित गर्ने अर्को पक्ष अमेरिकाले लगाएका चिप प्रतिबन्ध हुन् । अमेरिकी कम्पनीहरूलाई चिनियाँ कम्पनीलाई अत्याधुनिक माइक्रोचिप बेच्न रोक लगाइएको छ । यस्ता चिप अत्याधुनिक एआई मोडल विकासका लागि महत्वपूर्ण मानिन्छन् ।
चीनको फाइदा कहाँ छ ?
चिप प्रतिबन्धका बाबजुद अमेरिका र चीन दुवैमा लगभग हरेक महिना नयाँ एआई मोडल सार्वजनिक भइरहेका छन् । तर एआई दौडमा ‘जित’ भन्नाले वास्तवमा के बुझिन्छ र यसको अन्तिम बिन्दु हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन ।
धेरै कम्पनी मानवस्तरमा वा त्यसभन्दा माथि सिक्न, तर्क गर्न र विभिन्न काम गर्न सक्ने एआईको सैद्धान्तिक स्वरूप आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) विकास गर्ने दौडमा छन् ।
चिनियाँ एआई उद्योगले अहिलेसम्म अत्याधुनिक मोडल निर्माणमा मात्र ध्यान नदिई ओपन-वेट मोडल सार्वजनिक गर्नमा जोड दिएको छ । यस्ता मोडल डाउनलोड गरेर खुला सफ्टवेयरजस्तै प्रयोग र परिमार्जन गर्न सकिन्छ ।
यसको विपरीत, धेरै अमेरिकी कम्पनीले मुख्यतः आफ्ना स्वामित्वमा रहेका मोडललाई सशुल्क सदस्यता वा कम्पनीका प्लेटफर्ममार्फत उपलब्ध गराउँदै आएका छन् ।
चीनले ओपन-वेट मोडल तीव्र गतिमा सार्वजनिक गरिरहेको छ । विभिन्न परीक्षणका नतिजाले चीनका उत्कृष्ट मोडल अमेरिकी प्रतिस्पर्धीभन्दा केही महिनामात्र पछाडि रहेको देखाउँछन् ।
मुनसट एआईको किमी के३ जस्ता मोडल चीन र विदेशमा लोकप्रिय भएका छन् । यी मोडलले अत्याधुनिक मोडलसँग नजिकको प्रदर्शन गर्ने भए पनि निःशुल्क डाउनलोड र प्रयोग गर्न तथा आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी चीन विश्लेषक लिजी लीका अनुसार चीनको ध्यान एआईलाई आफ्नो अर्थतन्त्रभर प्रयोगमा ल्याउनेतर्फ बढी छ ।
उनले भनिन्, ‘एआई चन्द्रमामा पुग्ने अभियान होइन । अमेरिका अत्याधुनिक प्रविधिमा अगाडि रहन सक्छ, तर चीनले सक्षम एआईलाई सस्तो, खुला र सर्वव्यापी बनाएर ठूलो आर्थिक र भूराजनीतिक प्रभाव हासिल गर्न सक्छ ।’
एआईका लागि ठूलो मात्रामा ऊर्जा आवश्यक पर्छ । यस क्षेत्रमा पनि चीनलाई फाइदा रहेको रेबेका आर्सेसाटीले बीबीसी वर्ल्ड सर्भिसको टेक लाइफ कार्यक्रममा बताइन् ।
उनका अनुसार चिनियाँ एआई कम्पनीहरूले आवश्यक विद्युत् तुलनात्मक रूपमा कम लागतमा पाउन सक्छन्, जुन उनीहरूका लागि महत्वपूर्ण फाइदा हो ।
रोबोटिक्समा पनि चीन अगाडि छ । एआईको महत्वपूर्ण क्षेत्र मानिने रोबोटिक्समा चीन विश्वकै सबैभन्दा ठूलो उत्पादक बनेको छ । अन्तर्राष्ट्रिय फेडरेसन अफ रोबोटिक्सका अनुसार चीनका कारखानामा २० लाखभन्दा बढी रोबोट सञ्चालनमा छन् ।
चाथम हाउसका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो ह्युमानोइड रोबोट उत्पादकसमेत बनेको छ । वर्षको पहिलो ६ महिनामा विश्वभर पठाइएका ह्युमानोइड रोबोटमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आएका थिए ।
प्रविधि अनुसन्धान संस्था ओमडियाका विश्लेषक लियान जे सुका अनुसार अत्याधुनिक अमेरिकी चिपको अभावका बाबजुद चिनियाँ एआई विकासकर्ताले ‘उल्लेखनीय क्षमता र नवीनता’ देखाएका छन् ।
तर अमेरिकी अधिकारी र एआई कम्पनीहरूले चिनियाँ विकासकर्ताले डिस्टिलेसन नामक प्रविधिको प्रयोग गरेर अमेरिकी मोडलबाट सिक्दै दूरी कम गरेको आरोप लगाएका छन् । डिस्टिलेसनले कम उन्नत मोडललाई बढी उन्नत मोडलबाट सिक्न सक्षम बनाउँछ ।
यसको जवाफमा चीनको विदेश मन्त्रालयले एआई विकास आफ्नो ‘व्यापक परामर्श र साझा लाभका लागि संयुक्त योगदान’को दृष्टिकोणबाट अघि बढिरहेको बताएको छ ।
एआईको सुरक्षाबारे अमेरिका र चीनको दृष्टिकोण फरक
अमेरिका र चीन एआईमा तीव्र प्रतिस्पर्धामा रहे पनि एआई सुरक्षासम्बन्धी उनीहरूको दृष्टिकोण भने निकै फरक छ ।
एआईले मानव अस्तित्वमै जोखिम निम्त्याउन सक्ने चेतावनी उद्योगका केही विज्ञले दिँदै आएका छन् । तर चिनियाँ अनुसन्धानकर्ताहरू त्यस्तो जोखिमप्रति तुलनात्मक रूपमा कम चिन्तित देखिन्छन् । उनीहरूको मुख्य चिन्ता एआईको दुरुपयोग र साइबर युद्धतर्फ बढी केन्द्रित छ ।
एआईका जोखिमबारे प्रश्न उठ्दा ट्रम्पले अमेरिकामा पर्याप्त नियम रहेको र एआईलाई आवश्यक पर्ने एक मात्र सुरक्षा घेरा ‘उच्च आईक्यू भएको राष्ट्रपति’ भएको बताएका छन् ।
‘हामी अहिले चीन र अरू सबैभन्दा धेरै अगाडि छौँ र हामी यसलाई त्यसरी नै कायम राख्नेछौँ,’ ट्रम्पले यसै साता भने । उनले एआईलाई ‘औद्योगिक क्रान्तिभन्दा ठूलो’ हुने प्रविधि भन्दै यसको विकास रोक्ने काम नगर्ने बताएका छन् ।
अमेरिकाले नवप्रवर्तनलाई प्राथमिकता दिँदै नियमन घटाउने प्रयास गरेको साइबर सुरक्षा कम्पनी चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिजका सूचना सुरक्षा अधिकारी जयन्त डेभले बताए । उनका अनुसार यसको उद्देश्य अमेरिकी एआई प्रयोगशालालाई अगाडि राख्नु हो ।
चीनले भने अमेरिकाको तुलनामा फरक रणनीति अपनाएको छ ।
सीले चिनियाँ नेतृत्वलाई एआईका जोखिममाथि नजिकबाट निगरानी राख्न र प्रविधि सधैँ ‘मानव नियन्त्रणमा’ रहने सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका एआई नैतिकता विषयका प्राध्यापक जोनाथन सिमका अनुसार चीनले तुलनात्मक रूपमा सावधानीपूर्ण र केन्द्रीय रूपमा समन्वय गरिएको दृष्टिकोण अपनाएको छ ।
चीनले धेरै देशभन्दा पहिले डेटा प्रयोग र एल्गोरिदमसम्बन्धी निर्देशिका ल्याएको थियो । यस्ता निर्देशिकाले आधारभूत चिन्ता सम्बोधन गर्न सहयोग गर्नुका साथै विकासकर्तालाई नवप्रवर्तनका लागि ठाउँ पनि दिएको उनको भनाइ छ ।
अमेरिका र चीन सहकार्य गर्लान् ?
अन्तर्राष्ट्रिय सहकार्यको आह्वान भइरहे पनि एआईबाट उत्पन्न हुन सक्ने जोखिम सम्बोधन गर्न अमेरिका र चीनले कसरी काम गर्नेछन् भन्ने अझै स्पष्ट छैन ।
दुवै देशले विगतमा आणविक हतियारजस्ता अस्तित्वगत जोखिमका विषयमा सहकार्य गरेका थिए । तर त्यतिबेला दुवै पक्षबीच जोखिमबारे साझा बुझाइ थियो । एआईको मामिलामा अहिले त्यस्तो साझा बुझाइ नरहेको डेभले बताए ।
उनका अनुसार, ‘वासिङ्टनलाई एआईको क्षमता नियन्त्रणबाट बाहिर जाने चिन्ता छ भने बेइजिङलाई त्यही क्षमता आन्तरिक स्थिरताका लागि खतरा बन्ने चिन्ता छ ।’
ट्रम्पले उद्योगव्यापी रूपमा एआई विकास सुस्त पार्ने प्रस्ताव अस्वीकार गर्दै आएका छन् । उनका अनुसार त्यसो गर्दा चिनियाँ विकासकर्ताले अमेरिकासँगको दूरी कम गर्न सक्छन् ।
ट्रम्प–सी शिखर वार्ताअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले गम्भीर एआई घटनाबारे जानकारी आदानप्रदान गर्ने संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।
कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसकी नीति विश्लेषक लिया वाङका अनुसार पछिल्ला सातामा ट्रम्पको चीनसम्बन्धी अभिव्यक्ति ‘झन् आक्रामक’ भए पनि एआईलाई वार्ताको एजेन्डामा राखिनु सकारात्मक सुरुवात हो ।
तर उनले एआईको दौडसम्बन्धी ‘अस्वस्थ भाष्य’ निरन्तर बढ्दै जान नहुने बताइन् । त्यसले एआईमा पहिल्यै तीव्र रहेको अमेरिका–चीन प्रतिस्पर्धालाई थप चर्काउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया