अमेरिका गएर पनि किन राष्ट्रसंघको महासभामा अनुपस्थित भए चिनियाँ राष्ट्रपति सी ?

अमेरिका गएर पनि किन राष्ट्रसंघको महासभामा अनुपस्थित भए चिनियाँ राष्ट्रपति सी ?


एजेन्सी । वासिङ्टन डीसीबाट न्युयोर्क हवाई यात्रामा जाँदा बढीमा डेढ घण्टा लाग्छ ।

चीनका राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर २३ मा वासिङ्टन पुगेका बेला न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशन चलिरहेको थियो । तर सी चिनफिङ भने महासभामा सहभागी हुन न्युयोर्क गएनन् ।

चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले सेप्टेम्बर २४ देखि २६ सम्म न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा चीनको प्रतिनिधित्व गरिरहेका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार, ‘उपराष्ट्रपति हान चीनको पहलमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागी हुनुहुनेछ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव, ८१औँ महासभा अधिवेशनका अध्यक्षका साथै सम्बन्धित देशका नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।’

संयुक्त राष्ट्रसंघको महासभामा सीको अनुपस्थितिले संयुक्त राष्ट्रसंघको महत्त्वमा चीनले निरन्तर दिँदै आएको जोडलाई कमजोर बनाएको देखिएको टिप्पणी हुन थालेको छ । जुन २०२६ मा जारी चीनको विश्वव्यापी शासनसम्बन्धी श्वेतपत्रमा पनि संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय व्यवस्थाको केन्द्रका रूपमा उल्लेख गरिएको थियो ।

२०१२ को अन्त्यमा चीनको सर्वोच्च नेतृत्वमा पुगेयता सी चिनफिङले व्यक्तिगत रूपमा संयुक्त राष्ट्रसंघको महासभामा एकपटक मात्रै सहभागिता जनाएका छन् । उनी सन् २०१५ मा संयुक्त राष्ट्रसंघको ७०औँ वार्षिकोत्सवका अवसरमा न्युयोर्क पुगेका थिए । त्यही उनको पहिलो र अहिलेसम्मको एक मात्र व्यक्तिगत महासभा सम्बोधन थियो ।

गौर गर्नुपर्ने कुरा के छ भने त्यो भ्रमण सीको अमेरिकाको अघिल्लो राजकीय भ्रमणसँगै भएको थियो । त्यतिबेला उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउनुका साथै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग शिखर वार्ता पनि गरेका थिए । यस्तो अवस्थामा २०२६ मा त्यस्तै किसिमको भ्रमण नगर्ने उनको निर्णयलाई थप महत्त्वपूर्ण मानिएको छ ।

सन् २०२१ मा सीले संयुक्त राष्ट्रसंघको महासभालाई भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए । त्यही क्रममा उनले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ घोषणा गरेका थिए । त्यसयता उनले व्यक्तिगत रूपमा महासभालाई सम्बोधन गरेका छैनन् ।

अनलाइन पत्रिका ‘द डिप्लोम्याट’ले आफ्नो एक रिपोर्टमा लेखेको छ, ‘सी संयुक्त राष्ट्रसंघको ७०औँ वार्षिकोत्सवमा व्यक्तिगत रूपमा सहभागी हुन समय निकालेर गएका थिए । यो कुनै अपवाद थिएन । सन् १९९५ मा जियाङ जेमिनको समयदेखि चीनका सर्वोच्च नेताहरू संयुक्त राष्ट्रसंघका हरेक दशौँ वार्षिकोत्सवमा सहभागी हुँदै आएका छन् । यस्तो अवस्थामा २०२५ मा संयुक्त राष्ट्रसंघको ८०औँ वार्षिकोत्सवका अवसरमा सीको अनुपस्थिति अझ उल्लेखनीय थियो ।’

जापानी सञ्चारमाध्यम ‘निक्केई एसिया’ले आफ्नो रिपोर्टमा सी चिनफिङ सुरुमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने योजनामा रहेको तर पछि योजना परिवर्तन गरिएको उल्लेख गरेको छ ।

‘निक्केई एसिया’का अनुसार चीनले करिब ११ वर्षपछि संयुक्त राष्ट्रसंघमा सीको पहिलो व्यक्तिगत सम्बोधन हुन सक्ने सम्भावित भ्रमणको तयारीका लागि कदमसमेत चालेको थियो । चिनियाँ सरकारसँग सम्बन्धित वार्ताबारे जानकार एक स्रोतका अनुसार जुलाईको अन्त्यतिर बेइजिङ र वासिङ्टनले न्युयोर्कमा चीनका उपप्रधानमन्त्री हे लाइफेङ र अमेरिकी अर्थमन्त्री स्कट बेसान्टबीच बैठक गराउने प्रयास गरेका थिए । यो बैठकलाई सीको सम्भावित भ्रमणको प्रारम्भिक तयारीका रूपमा पनि हेरिएको थियो ।

तर अगस्टको मध्यतिर न्युयोर्कमा रोकिने योजना रद्द गरियो । यो परिवर्तन आंशिक रूपमा भ्रमणलाई तीन दिनमा सीमित गर्ने उद्देश्यले गरिएको थियो । ट्रम्प चीन जाँदा उनी मे १३ को साँझ त्यहाँ पुगेका थिए र मे १५ मा फर्किएका थिए । चिनियाँ सरकारका एक स्रोतका अनुसार बेइजिङले बाँकी विश्वलाई चीन र अमेरिका समान हैसियतमा रहेको सन्देश दिनुलाई प्राथमिकता दिएको थियो ।

‘निक्केई एसिया’ले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुँदा सम्भावित जोखिम पनि कम हुने उल्लेख गरेको छ । महासभाका क्रममा कुनै अन्य विश्व नेताले अप्रत्याशित रूपमा चीनको आलोचना गर्न सक्ने सम्भावना रहन्छ । सन् २०१५ मा सीको न्युयोर्क भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर भएका चीनविरोधी प्रदर्शनले पनि व्यापक ध्यान खिचेको थियो ।

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ सल्लाहकार स्कट केनेडीले ‘निक्केई एसिया’सँग भनेका छन्, ‘यस्तो देखिन्छ कि सीले यस भ्रमणका क्रममा अमेरिकामा त्यति नै समय बिताउने निर्णय गरेका छन्, जति ट्रम्पले मेमा चीनमा बिताएका थिए । ट्रम्पसँगको बैठकका लागि थप व्यापक कार्यसूची र ठोस परिणाम तयार गर्न कठिन भएकाले पनि यो निर्णय आंशिक रूपमा प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ ।’

संयुक्त राष्ट्रसंघको घट्दो महत्त्व

बेलायती समाचार वेबसाइट ‘द इन्डिपेन्डेन्ट’ले आफ्नो रिपोर्टमा सी चिनफिङ अहिले निकै बलियो अवस्थामा रहेको र त्यसको प्रभाव उनको अमेरिकी भ्रमणमा पनि स्पष्ट देखिएको उल्लेख गरेको छ ।

‘द इन्डिपेन्डेन्ट’का अनुसार विश्लेषकहरूले इरानसँगको महँगो युद्धबाट अमेरिकी जनता असन्तुष्ट रहेको र मध्यावधि निर्वाचनअघि त्यसको प्रभाव राष्ट्रपतिको लोकप्रियतामा परिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति दबाबमा रहेको बताएका छन् । त्यसैले सी चिनफिङले अमेरिकासामु रियायत दिन हतार नगर्ने उनीहरूको विश्लेषण छ ।

क्राइसिस ग्रुप इन्टरनेसनलका अमेरिका–चीन मामिलाका वरिष्ठ अनुसन्धान तथा पैरवी सल्लाहकार अली वेनले ‘द इन्डिपेन्डेन्ट’सँग भनेका छन्, ‘ट्रम्पले इरानलाई चीनले दिएको समर्थनको स्तर र त्यसको महत्त्वलाई पटक–पटक कम आँकेका छन् । न त उनले न त अर्थमन्त्री स्कट बेसान्टले ठूला चिनियाँ वित्तीय संस्थालाई निशाना बनाउने तयारी वा त्यस्तो गर्ने अमेरिकी इच्छाको कुनै संकेत दिएका छन् ।’

अमेरिकाको प्रमुख अखबार ‘द न्युयोर्क टाइम्स’ले पनि यस घटनालाई संयुक्त राष्ट्रसंघको कमजोर बन्दै गएको अवस्थासँग जोडेको छ ।

‘न्युयोर्क टाइम्स’ले आफ्नो रिपोर्टमा लेखेको छ, ‘विश्वका ठूला शक्तिहरूले संयुक्त राष्ट्रसंघलाई निरन्तर पन्छाउँदै वा बेवास्ता गर्दै गएपछि यो संस्था कमजोर, अव्यवस्थित र धेरै हदसम्म प्रभावहीन बन्दै गएको छ । ट्रम्पसँग भेट्न जाने क्रममा सी चिनफिङले न्युयोर्कमा रोकिन आवश्यक नठान्नु पनि निकै अर्थपूर्ण छ । सेप्टेम्बर २०१५ मा सीले ओबामा प्रशासनको ह्वाइट हाउस भ्रमण गर्दा त्यही वर्ष संयुक्त राष्ट्रसंघको महासभामा पनि सहभागी भएर सम्बोधन गरेका थिए ।’

सीको अनुपस्थितिको महत्त्वबारे अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा रोमस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयहरूका लागि अमेरिकी राजदूत रहेका जेफ्री प्रेस्कटले ‘न्युयोर्क टाइम्स’सँग कुरा गरेका छन् ।

उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघका लागि यसभन्दा बढी क्षति पुर्‍याउने प्रतीकात्मक सन्देश सायदै हुन सक्छ । वासिङ्टन र न्युयोर्कबीचको रेल चीनको रेलभन्दा ढिलो हुन सक्छ । तर शी यहाँबाट धेरै टाढा छैनन् र पनि उनी त्यहाँ जानका लागि समय निकाल्न सकेनन् ।’

उनले थप भनेका छन्, ‘यसबाट अहिले संयुक्त राष्ट्रसंघको मञ्च कति महत्त्वपूर्ण रहँदै गएको छ भन्ने बुझ्न सकिन्छ ।’

सन् १९४५ मा स्थापना भएको यो विश्वव्यापी संस्था पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा देखिएको मतभेदका कारण लगभग निष्क्रियजस्तै बनेको छ । सुरक्षा परिषद्सँग कानुनी रूपमा बाध्यकारी प्रस्ताव पारित गर्ने तथा प्रतिबन्ध वा सैन्य कारबाहीलाई स्वीकृति दिने अधिकार छ ।

अमेरिका, चीन र रुसबीचका विवादका कारण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरान, युक्रेन, गाजा, यमन र दक्षिण सुडानजस्ता विषयमा पटक–पटक ठोस निर्णय लिन सकेको छैन । यी तीनै देशसँग सुरक्षा परिषद्‍मा भिटो प्रयोग गर्ने अधिकार छ ।