हिम्लुङ हिम पहिरो : चार जनाको मृत्यु, ११ सकुशल

हिम्लुङ हिम पहिरो : चार जनाको मृत्यु, ११ सकुशल


काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

हिम पहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेको भएपनि बेपत्ताको संख्या भने १० जनामाथि हुने अनुमान गरिएको खनालले जानकारी दिए ।

उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको र दुई जनाको शव सदरमुकाममा राखिएको जानकारी दिए ।

बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन् ।