सुर्खेत । दुई दशकअघि निर्माण थालिएको वीरेन्द्रनगरको ३१ किलोमिटर चक्रपथ अझै पूरा भएको छैन । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनामा २०७८ सालसम्म २१ किलोमिटर ट्र्याक मात्र खुलेको थियो ।
अहिले फेरि नयाँ ठेक्काबाट ४ दशमलव ३ किलोमिटर खण्डमा काम भइरहेको छ, जहाँ भौतिक प्रगति २० देखि २१ प्रतिशत मात्रै छ ।
योजना सुरु भएको लामो समय बितिसक्दा पनि चक्रपथको ठूलो हिस्सा निर्माणकै पर्खाइमा छ । स्थानीयको जग्गा तथा घर सडकमा पर्ने विवाद, अदालतको आदेश र वन क्षेत्रका कारण विभिन्न खण्डमा काम रोकिँदै आएको हो । सुब्बाकुनादेखि अमृतडाँडासम्म करिब एक किलोमिटर सडक मात्र कालोपत्र भएको थियो ।
लामो समयसम्म काम अघि बढ्न नसकेपछि पुरानो ठेक्काको अवधि पटक–पटक थपिएको थियो । आर्थिक वर्ष २०७९/८० को असारमा सम्झौताको अवधि सकिएपछि पुरानो ठेक्काबाट बाँकी काम अघि बढ्न सकेन ।
त्यसपछि नेवारे खोला–धुलियाबिट खण्डमा नयाँ ठेक्कामार्फत काम भइरहेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार न्यू दीपक–लक्ष्मण जेभीसँग भ्याटसहित १७ करोड ४७ लाख ३४ हजार ३ सय ७८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
करिब ४.३ किलोमिटर सडक कालोपत्र गर्ने गरी गत आर्थिक वर्ष २०८२/८३ मा सम्झौता भएको हो । ठेक्काको अवधि तीन वर्ष रहेको छ ।
निर्देशनालयका इन्जिनियर अजितकुमार थापाका अनुसार निर्माणाधीन खण्डमा हाल २० देखि २१ प्रतिशत भौतिक प्रगति भएको छ । एउटा स्ल्याब कल्भर्ट निर्माण सम्पन्न भएको छ भने दुईवटा बक्स कल्भर्ट निर्माणाधीन छन् । नाली निर्माणको काम पनि भइरहेको छ ।
सडकसँगै पाँचवटासम्म बक्स कल्भर्ट, दुईदेखि तीनवटा स्ल्याब कल्भर्ट, ग्याबिन तथा रिटेनिङ वाल निर्माण गर्नुपर्नेछ ।
३१ किलोमिटर चक्रपथमध्ये ट्र्याक खोलिएको भागमा स्तरोन्नति र कालोपत्र गर्नुपर्ने तथा ट्र्याक नै खोल्न बाँकी स्थानमा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ ।
बाँकी खण्डमा एलाइनमेन्ट, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन गर्नुपर्नेछ । यी प्रक्रिया पूरा भएपछि मात्र निर्माण अघि बढाउन सकिनेछ ।
डीपीआर तथा वातावरणीय अध्ययनको काम विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम(पीएलआरआईपी) मार्फत अघि बढाउने तयारी छ । बाँकी खण्डका लागि बजेटको व्यवस्था भए पनि निर्माण सुरु हुने निश्चित मिति भने तय भएको छैन । चक्रपथको रुट सुब्बाकुनाबाट घुस्रा हुँदै वीरेन्द्रनगर उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमलसम्म जोडिने गरी अघि बढाइएको छ ।

प्रतिक्रिया