कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनबाट देशभर झण्डै ४४ हजार युवा नेतृत्वमा आएका छन् ।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताए । कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको पौडेलको भनाइ छ ।

कांग्रेसको विधानमा गरिएको नयाँ व्यवस्थाअनुसार, हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्छ । जसले गर्दा ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन् ।

तर सबै वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । त्यो अनुसार औसतमा पाँच जना निर्वाचत भएका छन् । जसले गर्दा ३३ हजार ७१५ जना ३५ वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा आएको उनले जानकारी दिए ।

त्यस्तै, हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ । अहिले गाउँपालिकातर्फ तीन हजार २१५ वडा रहेका छन् भने नगरपालिकातर्फ तीन हजार ५२८ वडा छन् ।

त्यसैले गाउँपालिकाको वडामा तीन हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकामा दुई जनाको दरले सात हजार ५६ जना युवा वडा सदस्य बनेका छन् ।

यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी पाएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताए ।

क्षेत्रीय प्रतिनिधिबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदै छन् ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधिमध्ये हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको कटुवालले जानकारी दिए ।

कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार, हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि हुनेछन भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य हुनेछन् ।

केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवक र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।